प्रेस विज्ञप्ति
नेपाली राजदूतावास, ओटावाले १२औं गणतन्त्र दिवसको उपलक्ष्यमा मिति २०७६ जेठ १५ (मे २९, २०१९) का दिन राजदूतावासमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपालका राजदूत महामहिम श्री भृगु ढुङ्गानाले नेपालमा गणतन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनार्थ नेपाली जनताले गरेको संघर्ष तथा त्यागको चर्चा गर्दै जननिर्वाचित संविधानसभा मार्फत् गणतान्त्रिक नेपालको संविधान जारी हुनु र सोही अनुरुप मुलुकमा तीनै तहका निर्वाचन सम्पन्न भई स्थीर सरकारको स्थापना हुनुलाई ठूलो उपलब्धीको रुपमा बुझ्नुपर्ने कुरा बताउनु भयो । सो अवसरमा वहाँले नेपालमा गणतन्त्र संस्थागत हुनुका साथै राजनीतिक संक्रमण समाप्त भएको वर्तमान् परिप्रेक्ष्यमा नेपाल सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि हासिल गर्नु रहेकोले यस कार्यमा सघाउन क्यानडामा बसोबास गरिरहनुभएका सबै नेपालीहरुलाई आग्रह गर्नु भयो ।
विदेशमा बसोबास गरिरहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको विकासमा सदुपयोग गर्ने उद्देश्यले नेपाल सरकारले हालै Brain Gain Center को स्थापना गरेकोले सोमा आबद्ध भई नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउन समेत सो अवसरमा उहाँले अनुरोध गर्नुभयो । नेपालको आर्थिक सामाजिक विकासको लागि वैदेशिक लगानी महत्वपूर्ण रहेको र सरकारले जलविद्युत, कृषि, पर्यटन पूर्वाधार विकास, सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानीको लागि सहज वातावरण बनाइसकेकोले लगानीका लागि सकारात्मक भूमिका निर्वाह गर्न उहाँले क्यानडामा बस्ने नेपाली समुदायलाई अनुरोध समेत गर्नुभयो । सो अवसरमा राजदूत ढुङ्गानाले नेपालको हित प्रबर्द्धन र समृद्धिको लागि नेपाली राजदूतावास सदैव क्यानाडामा रहेका नेपालीहरुसँग सहकार्य गरी अघि बढ्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।
उक्त समारोहमा गैर आवासीय नेपाली संघका पदाधिकारी लगायत ओटावामा विभिन्न पेशा तथा व्यवसाय गरी बसोबास गर्ने नेपालीहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा राजदूतावासका उपनियोग प्रमुख श्री प्रकाश अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको संचालन गर्नु भएको थियो ।
नेपाली राजदूतावास
ओटावा
मिति २०७६ जेठ १५