सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले स्वीट्जरल्याण्डको वर्नमा सम्पन्न द्विपक्षीय वार्ता जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औँ सम्मेलन तथा संघीय गणतन्त्र जर्मनीको ‌औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनु हुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव श्री सेवा लम्सालले संचारकर्मीलाई सम्बोधन गर्नुभएको प्रेस नोट

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले स्वीट्जरल्याण्डको वर्नमा सम्पन्न द्विपक्षीय वार्ता जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औँ सम्मेलन तथा संघीय गणतन्त्र जर्मनीको ‌औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनु हुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव श्री सेवा लम्सालले संचारकर्मीलाई सम्बोधन गर्नुभएको प्रेस नोट

                                                                                             २०८१ अषाढ ५ (१९ जुन २०२४)

 

उपस्थित पत्रकार मित्रहरु,

 

१.  स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भएको अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औँ वार्षिक सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत Global Coalition for Social Justice को  समुद्‍घाटन समारोहमा सम्बोधन, स्वीट्जरल्याण्ड तथा जर्मनीका महामहिम राष्ट्रपतिजयूहरु श्री भियोला एमहर्ड र डा फ्र्यांक- वाल्टर स्टेनमायरसँग द्विपक्षीय भेटघाट गरी सम्माननीय राष्ट्रपतिज्यू तथा वहाँको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ। उक्त भ्रमणका बारेमा सम्प्रेषित प्रेष विज्ञप्ति, ट्वीटर लगायतका विभिन्न संचार माध्यमहरूबाट प्रवाह भएका सूचनाका बारेमा तपाईहरू अवगत नै हुनुहुन्छ।तथापि, यस भ्रमणका बारेमा म तपाइँहरूलाई संक्षिप्त रूपमा जानकारी गराउन चाहन्छु।

२. सर्वप्रथम, मिति २०८१ जेठ ३० गते तदनुसार १२ जुन २०२४ का दिन सम्माननीय राष्ट्रपतिज्यूले स्वीट्जरल्याण्डका राष्ट्रपति महामहिम श्री भियोला एमहर्डसँग बर्नमा द्विपक्षीय भेटवार्ता गर्नुभयो। सो अवसरमा वहाँहरूले नेपाल-स्वीटजरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल गर्नुभई द्विपक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गर्नुभयो।

३. उक्त भेटवार्ताका क्रममा नेपाल‒स्वीट्जरल्याण्डबीच विकास सहयोग, उच्चस्तरीय भ्रमणको आदान-प्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका द्विपक्षीय सम्बन्धका सबै पक्षहरुमा छलफल भयो। विशेषगरी कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने बिषयहरुमा छलफल केन्द्रित भए।

४. सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक-आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रकृयामा गरेको सहयोगको लागि स्वीट्जरल्याण्ड सरकारलाई सम्ममा स्तरोन्‍नति हुन प्रयत्‍नशील रहेको सन्दर्भमा स्वीट्जरल्याण्ड सरकारको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

५. यसैगरी स्वीट्जरल्याण्डका महामहिम राष्ट्रपतिज्यूले नेपाल समृद्धितर्फ अगाडी बढी रहेकोमा सन्तोष व्यक्त गर्नु भयो। साथै, वहाँले जनस्तरमा विस्तारित सम्बन्ध, दुई मुलुकबीचको भौगोलिक समानता तथा उच्चस्तरीय भ्रमण आदानप्रदान लगायतका विषयमा आफ्नो धारणा राख्‍नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले स्वीट्जरल्याण्डका महामहिम राष्ट्रपतिज्यूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो।

६. भ्रमणको दोश्रो दिन अर्थात मिति २०८१ जेठ ३१ गते तदनुसार १३ जुन २०२४ का दिन सम्माननीय राष्ट्रपतिज्यूले जेनेभामा आयोजना भएको अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औँ वार्षिक सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत Global Coalition for Social Justice को समुद्‍घाटन समारोहमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नु भयो।

७. सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले श्रमिकहरुको सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सरकारले लिएका प्रमुख कदमहरुका बारेमा प्रकाश पार्नु भएको थियो। वहाँले जलवायु परिवर्तनका नकारात्मक असरहरु र यसले सामाजिक न्याय सुनिश्चित गर्नमा थपिएका चुनौतीका बारेमा अन्तरराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नुभयो।

८. सम्माननीय राष्ट्रपतिज्यूले नेपालले श्रमिकको हक अधिकार सुनिश्चित गर्न गरेका प्रयास तथा उपलब्धि तथा नेपालको संविधानमा सामाजिक न्यायलाई मौलिक अधिकारका रुपमा प्रत्याभूत गरेको लगायतका विषयहरु प्रकाश पार्नुहुँदै नेपाल श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूप्रति पूर्ण प्रतिबद्घ रहेको कुरा व्यक्त गर्नुभयो।

९. साथै, वहाँले नेपालको संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनले परिकल्पना गरे अनुसार सबैलाई र सबै क्षेत्रहरुका लागि सामाजिक न्याय आत्मसाथ गर्न नेपाल सरकार प्रतिवद्ध रहेको दोहर्याउनु भयो। वहाँले भन्‍नु भयो, “श्रम जगत् नै हो जसले विश्वलाई समृद्घ बनाएको छ। श्रमको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो भने यो नै सामाजिक न्याय हो। सम्माननीय राष्ट्रपतिज्यूले विश्वका सबै देशहरुलाई आप्रवासी कामदारहरुको कामको सम्मान गर्न र आफ्ना नागरिक सरह व्यवहार गर्न आव्हान गर्नुभयो।

१०. सम्बोधनको क्रममा सम्माननीय राष्ट्रपतिज्यूले कार्वन उत्सर्जनमा अत्यन्त न्यून योगदान भएता पनि नेपालले जलवायु परिवर्तनको ठूलो भार वहन गर्न परिरहेको बताउनुभयो। सामाजिक न्यायको कुरा गरिरहँदा जलवायु न्यायको विषय बिर्सन हुँदैन भन्‍ने कुरालाई वहाँले विशेष जोड दिनुभयो।

११. त्यसैगरी, सम्माननीय राष्ट्रपतिज्यूले दिगो शान्ति र दिगो आर्थिक विकासका लागि सामाजिक न्यायको केन्द्रीय भूमिका बारे चर्चा गर्नुहुँदै सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुका साथै वहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदर्शको रूपमा रहेको सामाजिक न्याय सबैका लागि र सबै क्षेत्रमा अङ्गीकार गर्ने दिशामा एक भद्र समर्थन र साझा प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो।

१२. सोहि दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक श्री गिलबर्ट हुंग्बोले सम्माननीय राष्ट्रपतिज्यूसंग शिष्टाचार भेट गर्नुभएको थियो। सम्माननीय राष्ट्रपतिज्यूले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको दौरान उद्घाटन गरिएको Global Coalition for Social Justice मा मुख्य वक्ताको रुपमा निमन्त्रणा गर्नुभएकोमा महानिर्देशकलाई धन्यवाद व्यक्त गर्नुहुँदै नेपाल र अन्तरराष्ट्रिय श्रम संगठनबीचको सहकार्यका बारेमा छलफल गर्नु भयो।

१३. सोहि दिन अपरान्ह सम्माननीय राष्ट्रपतिज्यूले Old Geneva शहरको अवलोकन भ्रमण गर्नुभयो। सो अवसरमा वहाँलाई Council of the State of Canton of Geneva का अध्यक्ष महामहिम श्री नाथालिइ फोन्टानेटले Geneva Town Hall मा स्वागत गर्नुभएको थियो।

१४. स्वीट्जरल्याण्डको भ्रमण सफलतापूर्वक सम्पन्‍न गरी सम्माननीय राष्ट्रपतिज्यू मिति २०८१ असार १ गते तदनुसार १५ जुन २०२४ मा जर्मनीको राजधानी शहर बर्लिन पुग्नुभयो। जर्मनी भ्रमणको दोश्रो दिन अर्थात २०८१ असार २ गते सम्माननीय राष्ट्रपतिज्यूले पोट्सड्यामको भ्रमण गर्नुभई जलवायु परिवर्तन सम्बन्धी संस्थाहरु German Research Center for Geoscience (GFZ), Research Institute for Sustainability (RIFS) तथा Potsdam Institute for Climate Impact Research (PIK) का प्रतिनिधिहरूले गर्नुभएको छुट्टाछुट्टै प्रस्तुतीकरणमा सहभागी हुनुभयो।सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले “विज्ञान समाधानमा जानुपर्यो। विकसित मुलुकले के गर्ने, विकशील मुलुकले के गर्ने भन्ने बेला आयो। अनुसन्धानले कार्यदिशा निर्देशन गर्न जरुरी छ” भन्नुभयो।

१५. सो अवसरमा वहाँले जलवायु परिवर्तनको क्षेत्रमा नयाँ अध्ययन अनुसन्धानहरू भईरहेकोमा सराहना गर्दै यस प्रकारका अध्ययन अनुसन्धान तथा नयाँ प्रविधिहरूबाट नेपाल जस्ता जलवायु परिवर्तनबाट प्रताडित मुलुकहरू समेत लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो। साथै, वहाँले यो मुद्दालाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न विश्वका सबै देश तथा सरोकारवालाहरूले पहकदमी लिन अति जरूरी रहेको उल्लेख गर्नुहुँदै विकसित मुलुकहरू विशेष गरी अधिक कार्बन उत्सर्जन गर्ने मुलुकहरूले यस विषयमा थप जिम्मेवारी लिनुपर्ने धारणा राख्‍नुभयो।

१६. मिति २०८१ असार ३ गते तदनुसार १७ जुन २०२४ सम्माननीय राष्ट्रपतिज्यूले जर्मनीका राष्ट्रपति महामहिम डा. फ्र्याङ्क-वाल्टर स्टाइनमायरसँग बर्लिनस्थित राष्ट्रपति भवनमा द्विपक्षीय भेटवार्ता गर्नुभयो। बैठक प्रारम्भ हुनुभन्दा अगाडी सम्माननीय राष्ट्रपतिज्यूलाई जर्मनीका महामहिम राष्ट्रपतिज्यूले राष्ट्रपति भवनमा न्यानो स्वागत गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा गार्ड अफ अनर दिइएको थियो। सम्माननीय राष्ट्रपतिज्यूले राष्ट्रपति भवनमा राखिएको अतिथि-पुस्तकमा हस्ताक्षर गर्नु भएपश्चात् दुई राष्ट्र प्रमुखहरूबीच छुट्टै कुराकानी समेत भएको थियो।

१७. प्रतिनिधिमण्डल स्तरमा भएको द्विपक्षीय भेटवार्ताको क्रममा विकास सहयोग, व्यापार, पर्यटन, लगानी र व्यावसायीक तालिममा केन्द्रित हुँदै दुबै पक्षबाट नेपाल‍-जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भयो। छलफलका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले कृषि, पर्यटन र जलश्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रहरुमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्न आग्रह गर्नु भयो।

१८. सम्माननीय राष्ट्रपतिज्यूले युक्रेनमा युद्धबन्दीका रुपमा रहेका छजना निर्दोष नेपाली नागरिकको रिहाईका लागि जर्मन सरकारको सहयोगको लागि अनुरोध गर्नु भयो।

१९. दुबै देशका राष्ट्रपतिज्यूहरुले जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्‍नति, कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा चासोका क्षेत्रमा संयुक्त राष्ट्रसंघ लगायतका वहुपक्षीय मञ्‍चहरूमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानले लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थ व्यवस्था अंगिकार गरेको उल्लेख गर्नुहुँदै मित्रराष्ट्र जर्मनीले अवलम्बन गरेको नीतिसँग नेपालको उक्त व्यवस्था नजिक रहेको बताउनु भयो।

२०. सन् १९८६ पश्चात् नेपालबाट राष्ट्राध्यक्ष तहमा जर्मनीमा भएको यो पहिलो भ्रमण हो। सम्माननीय राष्ट्रपतिज्यूले जर्मनीका महामहिम राष्ट्रपतिज्यूलाई नेपालको ‌औपचारिक भ्रमणका लागि आमन्त्रण गर्नुभयो।

२१. भ्रमणकै क्रममा सम्माननीय राष्ट्रपतिज्यूले बर्लिनस्थित नेपाली राजदूतावासको अवलोकन भ्रमण पनि गर्नुभएको थियो भने स्विट्जरल्याण्ड तथा जर्मनीका लागि नेपाली राजदूतहरुले सम्माननीय राष्ट्रपतिज्यूको सम्मानमा स्वागत समारोह तथा रात्रिभोजको आयोजना गर्नुभएको थियो।

२२. सम्माननीय राष्ट्रपतिज्यूले नेपाल वायु सेवाका उडानहरुमा युरोपिन युनियनले लगाएको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग अनुरोध गर्नुभयो।

२३. लामो समयको अन्तरालपछि राष्ट्र प्रमुखको तहमा सम्पन्न मित्रराष्ट्र स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणबाट ती मुलुकहरुसंगको द्विपक्षीय सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउन मद्दत पुगेको छ।

२४. साथै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा Global Coalition for Social Justice को उद्घाटन समारोहमा सम्मानीय राष्ट्रपतिज्यूको विशेष सम्बोधनबाट नेपालको सामाजिक न्यायप्रतिको प्रतिवद्घता तथा विश्वको चिन्ताको रुपमा रहेको जलवायू परिवर्तनको नकारात्मक असरले सामाजिक न्याय प्राप्तिमा थपिएका अतिरिक्त चुनौती लगायतका बिषयहरुमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट भएको छ। समग्रमा सम्माननीय राष्ट्रपतिज्यूको भ्रमण अत्यन्त फलदायी एवम् सफल भएको छ । यस भ्रमणबाट नेपालको छवि र प्रतिष्ठा थप उचाइमा पुगेको विश्वास गरिएको छ।

२५. यस उच्चस्तरको भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यताका लागि सम्मानीय राष्ट्रपतिज्यूको तर्फबाट स्वीस सरकार, जर्मन सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन लगायत काठमाण्डौस्थित स्वीट्जरल्याण्डको राजदूताबास, जर्मनीको राजदूतावास तथा जेनेभा तथा वर्लिनस्थित् नेपाली राजदूताबासहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।

धन्यवाद।