सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा नेपाली मूलका म्यानमारी नागरिकहरुलाई सम्बोधन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा नेपाली मूलका म्यानमारी नागरिकहरुलाई सम्बोधन
पिन ओ लिन (म्यामो), म्यानमार
१८ अक्टोबर २०१९

माननीय परराष्‍ट्र मन्त्री,
महामहिम राजदूत,
म्यानमारमा बस्ने नेपाली समुदाय,
नेपाली मूलका म्यानमारी नागरिकहरू,
राष्ट्र सेवकहरू,
भद्र महिला तथा सज्जनवृन्द

म्यानमारका महामहिम राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार गणतन्त्र संघको राजकीय भ्रमणका क्रममा यस सुन्दर पिन ओ लिन (म्यामो) नगरमा नेपाली मूलका म्यानमारी नागरिकहरूसँग अन्तर्क्रिया गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । शताब्दीयौँ पुरानो नेपाल र म्यानमार सम्बन्धको एउटा प्रमुख कडीका रुपमा रहेको तपाईंहरुको योगदानको म उच्च मूल्यांकन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

सन् १९६० मा कूटनीतिक सम्बन्ध मार्फत औपचारिक सम्बन्धको शुरुआत भएतापनि नेपाल र म्यानमारको सम्बन्ध निकै पुरानो छ । हाम्रा दुई देशहरूबीचको सम्बन्ध आपसी सदभाव, सम्मान र विश्वासमा आधारित रहेको छ।

नेपाल र म्यानमारबीच प्रशस्तै साँस्कृतिक समानताहरु रहेका छन् । यसले दुबै राष्ट्रहरुबीच विद्यमान सम्बन्धलाई प्रगाढ बनाउन ठूलो भूमिका खेलिरहेको छ। नेपालीहरु म्यानमारमा केही शताब्दी अघिबाट नै बसोबास गर्दै आएको पाइन्छ‚ तथापि विश्‍व युद्धपश्चात् नै म्यानमारमा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भयो। लामो समय देखि म्यान्मारमा बसेर स्थानीय समुदायमा घुलमिल हुँदै तपाईंहरुले नेपाली भाषा, संस्कृति तथा भेषभुषाको संरक्षण र सम्बर्द्धन गरेको देख्‍न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।

म्यानमारको विकास‚ समृद्धि र स्थायित्वमा यहाँहरुको भूमिका अत्यन्तै ठूलो छ।यहाँहरुले स्थानीय समुदायहरुसँग मिलेर म्यानमारको विकासमा पुर्‍याउनु भएको योगदानको म प्रसंशा गर्न चाहन्छु। कडा परिश्रम, मेहनत र लगनशीलताद्वारा नेपालीहरुले जहाँपनि आफूलाई उन्नत समुदायका रूपमा उभ्याएका छन् । इमानदारिता, परिश्रम, सद्‍भाव, सहिष्‍णुता, शान्ति र उदारता नेपाली समुदायको पहिचान र विशेषताको रूपमा रहेको छ। यिनै मूल्यहरूलाई प्रवर्द्धन गर्दै म्यानमारको विभिन्न स्थानमा छरिएर रहेता पनि नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न र नेपाल र म्यानमारको हार्दिक सम्बन्ध विकास गर्न तपाईंहरुको योगदान महत्वपूर्ण रहेको छ ।नेपाली मूलका नागरिकहरूको संरक्षण र विकासका लागि म्यानमार सरकारलाई धन्यवाद दिन चाहन्छु।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रूपमा प्रस्तुत गरेको छ। यस अवसरमा तपाईंहरु र तपाईंहरुका परिवारका सदस्यहरुलाई नेपाल भ्रमण गर्नु हुन र म्यानमारमा नेपाल भ्रमण बर्षको प्रचार प्रसार गरिदिनुहुन आग्रह गर्न चाहन्छु। नेपाल विविध साँस्कृतिक सम्पदाहरूको धरोहरसहित बौद्धमार्गीहरुको पवित्र तीर्थस्थलको रूपमा समेत परिचित रहेको छ। बौद्ध दर्शनप्रति अगाध आस्थावान म्यानमारका नागरिकहरूलाई बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न प्रोत्साहन गर्न तथा विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा थप उजागर गर्न समेत अनुरोध गर्दछु ।

नेपाल ठूलो राजनीतिक परिवर्तनसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई अँगाल्दै सामाजिक-आर्थिक समुन्‍नति हासिल गर्न अग्रसर भैसकेको छ। वर्तमान सरकारले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्‍ट्रिय संकल्प हासिल गर्न योजना तथा कार्यक्रमहरू कार्यान्‍वयन गरिरहेको छ। मेरो विश्‍वास छ सबै देशबासीहरूको लगनशीलता र अन्तर्राष्ट्रिय समुदायको सद्‍भाव र समर्थनबाट हामी, यो सामयिक राष्‍ट्रिय अभिभारा र जनआकांक्षा साकार तुल्याउन हामी सफल हुनेछौं। नेपाल समृद्ध र विकसित हुँदा तपाईंहरूको प्रतिष्ठा अझ उच्च हुनेछ। नेपालसँग वाणिज्य, लगानी, पर्यटन र साँस्कृतिक सम्बन्ध थप सुदृढ तुल्याउन आ-आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुहुन आग्रह गर्न चाहन्छु।

नेपालको राष्ट्रपतिका रुपमा म्यानमार भ्रमण गर्न र तपाईंहरुसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा अत्यन्त खुशी लागेको कुरा पुनः उल्लेख गर्न चाहन्छु। तपाईंहरुले प्रदान गर्नु भएको आतिथ्यता तथा न्यानो मायाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।आफ्ना पूर्वज जस्तै नेपाली मूलका सम्पूर्ण व्यक्तिहरू उद्यमी, परिश्रमी र मेहनती समुदायका रुपमा कायम रहन सफल हुनुहोस् र आ-आफ्नो पेशा, व्यवसाय र सेवामा सफल बन्न सक्नुहोस्। तपाईंहरुको प्रयासमा मेरो शुभकामना छ। नेपाल र म्यानमारको सम्बन्ध अझै प्रगाढ बनाउँदै लैजान तपाईंहरुले आफ्नो तर्फबाट सक्दो भूमिका खेल्नु हुनेछ भन्नेमा म विश्वस्त छु । म्यानमारका असल नागरिक भएर तपाईंहरूले आफ्नो पूर्वजको मुलुकका रुपमा नेपाललाई आफ्नो मनमा राखेर नेपालीपन, नेपाली भाषा, संस्कृति र असल परम्पराको संरक्षण गर्दै नेपाल र म्यान्मारबीच सयौं बर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुदृढ तुल्याउन एक महत्वपूर्ण आधारका रुपमा सदैव लागिरहनु हुनेछ भन्ने आशा गर्दछु ।

अन्त्यमा, तिहार लगायत सबै सामाजिक चाडपर्वहरूको अवसरमा यहाँहरूको सुख, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्न चाहन्छु।

धन्यवाद् ।