सम्माननीय प्रधानमन्त्रीज्यूको मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमण सम्बन्धी प्रेस नोट

प्रेस  नोट

(१६ चैत्र २०७३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ)

 

उपस्थित  सञ्चारकर्मी  मित्रहरू,

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको निमन्त्रणामा बोआओमा यही २०७३ चैत्र १० दखि १४ गतेसम्म आयोजित ‘बोआओ फोरम फर एसिया’ को बार्षिक सम्मेलनको उद्‍घाटनसत्रलाई सम्वोधन गर्न तथा उच्चस्तरीय भेटघाटका निमित्त म माननीय परराष्ट्रमन्त्री समेत रहेको प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन भ्रमणमा गएको थिएँ।

मेरो भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय सम्वन्धका समग्र विषयहरुमा उच्च राजनैतिकस्तरमा छलफल गरी नेपाल-चीन सम्वन्धलाई थप सुदृढ बनाउने र देशको विकासका लागि आवश्यक सहयोग र समर्थन जुटाउनु रहेको थियो।

बोआओको सम्बोधन पश्चात चीनको बेइजिङ्ग र ल्हासा भ्रमण गरी मैले महामहिम चिनियाँ राष्ट्रपति सि चिनफिङ्ग, उपप्रधान मन्त्रीहरु क्रमश झाङ्ग गोली र वाङ्ग याङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका मन्त्री Son Tao र तिव्वत स्वशासित क्षेत्रका नेतासँग भेटघाट र कुराकानी गरेको छु।

  • बेइजिङ्गमा रहदा मलाई चिनियाँ राष्ट्रपतिसँग हार्दिक र मित्रवत वातावरणमा नेपाल-चीन सम्वन्धको समष्टिगतरुपमा छलफल गर्ने अवसर मिल्यो।उक्त छलफलमा दुबै देशमा विद्यमान अवसर र संभावनाहरुलाई भरपूर सदुपयोग गर्दै आपसी सम्वन्धलाई थप दरिलो बनाउने विषयमा महत्वपूर्ण समझदारी भएको छ।
  • उच्चस्तरीय भ्रमणको आदान-प्रदानबाट दुबै देशबीच विद्यमान सम्बन्धलाई विस्तार एवं थप मजवुत बनाउन हामी सहमत भएका छन्।यसै सन्दर्भमा मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको छु।उहाँले दुबै पक्षलाई अनुकूल हुने गरी छिट्टै नेपाल भ्रमणमा आउने वताउनु भएको छ।
  • यसैगरी हाम्रो कुराकानीको क्रममा दुबै देशहरुबीच उच्च राजनैतिक तह, सांसदहरु, सरकारी अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरुको नियमित रुपमा भ्रमणको आदान-प्रदानगरी आपसी मित्रता र सहयोगलाई थप सुदृढ गर्न समझदारी पनि भएको छ।
  • मैले चिनियाँ राष्ट्रपतिले अघि सारेको One Belt One Road Initiative मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छु।यसबाट नेपाल रेलमार्ग निर्माण, सडक, उर्जा, सीमावारपार विद्युत्तीय प्रसारण लाईन, औद्योगिक पार्क लगायतका महत्वपूर्ण पुर्वाधारहरुको निर्माण तथा स्तरोन्नति गर्ने, नेपालमा भूकम्पपश्चातको पुनःनिर्माणमा सहयोग, दुई देशहरुबीच अन्तर सञ्जाल निर्माण र विस्तार गर्ने जनस्तर र साँस्कृतिक सम्वन्धलाई थप प्रगाढ बनाउने जस्ता विषयहरुबाट लाभान्वित हुनेछ।यस विषयको समझदारीपत्रलाई छिट्टै अन्तिमरुप दिइनेछ।
  • दुबै देशको आर्थिक विकास र समुन्नतिका लागि रेलमार्गको निर्माणले महत्वपूर्ण भूमिका खेल्ने कुरालाई मैले चिनियाँ नेतृत्वसँग प्राथमिकताका साथ राखेको छु ।यस विषयमा दुवै पक्षका सरोकारवाला निकायहरुले निरन्तर सम्पर्कमा रही कार्य अगाढी बढाउने सहमति भएको छ।
  • यसैगरी नेपाल र चीनबीच विगतमा भएका सहमति तथा समझदारीहरुलाई तीव्रताका साथ कार्यान्वयन गर्ने र हाल वार्ताको चरणमा रहेका सीमावारपार आर्थिक क्षेत्र विकास, उर्जा सहयोग संयन्त्र स्थापना, लगानी तथा उत्पादन क्षमता अभिवृद्धि, रसुवागढी स्याफ्रुवेसी सडकको स्तरोन्नति गर्ने लगायतका समझदारीपत्रहरुलाई अन्तिमरुप दिई हस्ताक्षर गर्न दुबै देशका सम्वन्धित निकायहरुलाई निर्देशन दिने समझदारी भएको छ।
  • भूकम्पपश्चात अवरुद्ध भएको तातोपानी नाकालाई पुनःसञ्चालनमा ल्याउन चिनियाँ सहयोगको अपेक्षा राख्दा चिनियाँ राष्ट्रपतिले उक्त विषयलाई आफुले व्यक्तिगत रुपमा ध्यान दिएको र प्रतिवेदनहरुको अध्ययन पश्चात नाका खोल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
  • महामहिम राष्ट्रपतिसँगको भेटभन्दा पहिला मैले चिनियाँ उपप्रधानमन्त्रीहरु झाङ्ग गोलिसँग बोआओ र वाङ्ग याङ्गसँग बेइजिङ्गमा भएको भेटमा नेपाल-चीन सम्वन्धका विभिन्न विषयहरुमा विस्तृत रुपमा कुराकानी गरेँ।
  • उहाँहरुसँग मैले खासगरी नेपालको आर्थिक समुन्नति र विकासका लागि थप चिनियाँ लगानीका लागि पहल गरिदिन, बढिभन्दा बढि चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गराउन प्रोत्साहित गर्न नेपालको पूर्वाधार विकास र व्यापार क्षमता अभिबृद्धि तथा चिनियाँ वजारमा नेपाली उत्पादनको सहुलियतपूर्ण पहुँचको व्यवस्था गर्न जोड दिएँ।
  • यसैगरी कृषि क्षेत्रको विकास, प्रविधि हस्तान्तरण तथा तालिम र जनशक्ति विकासका क्षेत्रमा सहयोगका लागि अनुरोध गरेको छु।उहाँहरुले यी सबै विषयहरुमा सकारात्मक प्रतिक्रिया दिदै नेपालले हासील गरेका महत्वपूर्ण राजनीतिक उपलव्धि र स्थिरताको जगमा आगामी दिनमा आर्थिक विकासका लागि मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
  • भ्रमणको अवसरमा मैले उहाँसँग पारवहन यातायात सम्झौताको प्रोटोकल तयार गरी शीध्र हस्ताक्षर गर्न, भूकम्प पश्चात अवरुद्ध तातोपानी नाका पुनःसञ्चालनमा ल्याउन, रसुवागढी नाकाको स्तरोन्नती गर्न, उक्त नाकामा रहेको एकदिने पासको समस्या समाधान गर्न, बढदो व्यापार घाटा कम गर्न चीनले विशेष सहुलियत प्रदान गर्ने लगायतका विषयहरु राखेँ।
  • भ्रमणकै दौरान दुई देशबीचमा रहेका विभिन्न क्षेत्रगत सहयोगका संयन्त्रहरुको नियमित बैठक आयोजना गर्ने र ती मार्फत दुबै देशहरुबीच रहेका सहयोगका विभिन्न क्षेत्रहरुभएको सहमति र समझदारीलाई लैजाने र नयाँ-नयाँ क्षेत्रमा कार्य अगाढी बढाउन सम्वन्धित निकायहरुलाई निर्देशन दिने सहमति भएको छ।
  • अधिकाधिक संख्यामा चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको लागि अभिप्रेरित गर्न चीन सरकारको सहयोग आवश्यक रहेको विचार मैले राखे।यसमा चिनियाँ राष्ट्रपतिले सन् २०१७ लाई चीनमा नेपालको पर्यटन प्रवर्द्धन वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्ने र थप चिनियाँ पर्यटकलाई नेपाल भ्रमणम जान अभिप्रेरित गर्ने बताउनु भयो।
  • नेपालमा लगानी गरिरहेका र गर्न चाहने करिव २ दर्जन चिनीयाँ कम्पनीका उच्चस्तरीय पदाधिकारीहरुसँग नेपालमा लगानीका संभावनाहरुका विषयमा नेपाली राजदूतावास, बेइजिङ्ग र China Council for the Promotion of the International Trade ले संयुक्त रुपमा आयोजना गरेको Business Roundtable लाई संवोधन गर्दै नेपालमा लगानी गर्न उनीहरुलाई आव्हान गरेको छु। सरकारले नेपालमा लागानीको सुरक्षा र सहजीकरण गर्न आवश्यक कदम चाल्ने विश्वास दिलाएको छु।
  • यसैगरी बेईजिङ्ग रहदाँ मैले Beijing Foreign Studies University मा स्थापना हुन लागेको नेपाली अध्ययन केन्द्रको उद्‌घाटन गरे।नेपाली राजदूतावास र उक्त विश्वविद्यालयद्वारा संयुक्तरुपमा आयोजना गरेको “नेपाल चीन सम्बन्धः वृद्धि र सम्वृद्धिका संभावनाहरु” विषयक कार्यक्रमलाई सम्बोधन गरेँ। नेपाल-चीन सम्बन्धका विविध विषयहरु खासगरी आगामी दिनका प्राथमिकताहरु तथा द्विपक्षीय सहकार्यको आवश्यकताका वारेमा धारणा राखेँ।
  • चीन भ्रमणको पहिलो चरणमा हाइनान प्रान्तको बोआओ शहरमा आयोजित Boao Forum for Asia: Annual Conference 2017 लाई सम्बोधन गरे। विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरु एवं उच्चस्तरीय नेताहरुको उपस्थितिमा Globalization and Free Trade: Asian Perspectives विषयमा मैले नेपाल सरकारको धारणा राखे । मैले आफ्नो सम्वोधनमा विश्वव्यापीकरणलाई थप समावेशी र गतिशील बनाउनु पर्ने र यस क्रममा नेपाल जस्ता अल्पविकसित र भूपरिवेष्ठित देशहरुको चासो र सरोकारलाई संवोधन गर्दै उनिहरुको समावेशी आर्थिक विकास तथा उत्पादनलाई सहज वजार पहुँचको सुनिश्चितता हुनुपर्ने कुरामा विशेष जोड दिएको थिएँ।
  • यसैगरी भ्रमणको सिलसिलामा ल्हासामा रहदा तिव्वत स्वशासित क्षेत्रस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव श्री उ इन्जेसँग कुराकानी गरेँ।उक्त कुराकानी नेपाल र चीन विशेषत तिव्वत जनसरकारसँग मित्रवत र प्रगाढ सम्वन्धलाई अझ सुदृढ गर्न र आगामी दिनमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहयो। सो अवसरमा तातोपानी नाकाको शीध्र सञ्चालन तथा रसुवागढी नाकाको सुदृढीकरण एवं नेपाली वस्तुको तिव्वतमा सहज प्रवेश, स्थानीय तहमा रहेका द्विपक्षीय संयन्त्रहरुको नियमित बैठक गर्नुपर्ने लगायतका विषयमा विस्तृत रुपमा विचारको आदान प्रदान भयो।

 

भ्रमणको समग्र विश्लेषण:

  • बोआओ सम्मेलनमा भएको मेरो संबोधनबाट विश्वव्यापीकरण र स्वतन्त्र व्यापारको सन्दर्भमा अतितकम विकसित, भूपरिवेष्ठित तथा साना अर्थतन्त्र भएका देशहरुको चासो र अपेक्षा स्पष्टरुपमा अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ।
  • चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको छ। यसबाट आगामी दिनमा नेपाल चीन सम्वन्धले नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास लिएको छु । यस भ्रमणबाट आगामी दिनमा भौतिक पूर्वाधार निर्माण, लगानी, उर्जा, पर्यटन जस्ता विषयहरुमा थप सहयोग तथा सहकार्य बढाउने आधारशीला तयार भएको छ ।
  • नेपालसँग सीमाना जोडिएको एवं राजनैतिक, आर्थिक, भौगोलिक, सामाजिक तथा साँसकृतिक दृष्टिकोणबाट महत्वपूर्ण तिव्वत स्वशासित क्षेत्रको तहमा पनि सम्वन्धलाई थप विस्तार गर्न समझदारी भएबाट स्थानीय तहमा रहेर काम गर्ने दुबै तर्फका निकायहरुलाई थप समन्वय र सहकार्यमा काम गर्ने आधार समेत तयार भएको छ।

अन्त्यमा, यस भ्रमण अवधिमा चीन सरकारबाट प्रदान गरिएको न्यानो आतिथ्यता तथा सदाशयताका लागि म, मेरो प्रतिनिधिमण्डल तथा व्यक्तिगततर्फबाट  चीनका महामहिम राष्ट्रपति, चिनियाँ सरकार र जनताका साथै  सम्बद्ध सबै अधिकारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

धन्यवाद।