रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले डब्लु.पी.एल. ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नुभएपश्चात दिनुभएको सम्बोधन ०९ नोभेम्बर २०२२ रेक्याभिक, आइसल्याण्ड

रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्समा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  डब्लु.पी.एल. ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नुभएपश्चात दिनुभएको सम्बोधन
 ०९ नोभेम्बर २०२२
रेक्याभिक, आइसल्याण्ड

 

 

उपस्थित विशिष्ट नेतृत्ववर्ग,
महामहिमहरू,
भद्र महिला तथा सज्जनवृन्द ।

सन् २०२२ को प्रतिष्ठित ट्रेलब्लेजर पुरस्कारबाट मलाई सम्मानित गर्नुभएकोमा म विश्व महिला राजनीतिक नेतृत्व मन्चलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरालागि यो ठूलो सम्मानको विषय हो ।

यस महत्वपूर्ण मन्चमा मैले महिला र छोरीहरूको विविधतापूर्ण उपस्थित पाएको छु।आफ्नै संघर्षको शक्तिबाट अवरोधहरू पार गर्दै नेतृत्वमा पुगेर वर्तमान र भावी पुस्ताका लागि समेत विश्वमा प्रेरणाको स्रोत बनेका महिलाहरू यहाँ हुनुहुन्छ ।

यस मन्चमा पुरस्कार ग्रहण गरिरहँदा मलाई निकै खुसी लागेको छ र ममा ठुलो जिम्मेवारी बोध भैरहेको छ ।

विश्व महिला राजनीतिक नेतृत्व मन्चले विभिन्न क्षेत्रका महिला नेतृत्वहरुको संजाल स्थापना गर्न खेलेको भूमिकाको म प्रशंसा गर्दछु । यस अभियानबाट ‘कोही पनि पछि नपर्ने’ समाज निर्माणको वास्तविक उद्देश्य हासिल गर्न सफलता मिल्नेछ भन्ने मलाई लाग्दछ।

विश्वका अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि महिला सहभागिता र समानताका लागि भएको संघर्षको लामो इतिहास छ।

आज हाम्रो संविधानले देशको संसदमा कम्तिमा एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

स्थानीय सरकारहरूमा हालसालै निर्वाचित करिब पैंतीस हजार जनप्रतिनिधि मध्ये झन्डै एकचालीस प्रतिशत महिला रहेका छन्।

विद्यालय जाने उमेर पुगेका बालबालिकाहरूमा हामीले लैंगिक समानता हासिल गरेका छौं । फलस्वरूप, आज नेपालका ९८ प्रतिशत बालबालिकाहरु विद्यालय जान्छन् ।

हामीले मातृ तथा शिशु मृत्युदर घटाउन र निजामती सेवा, सुरक्षा निकाय, सहकारी तथा निजी संस्थानहरुमा महिला सहभागिता अभिवृद्धिमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएका छौँ ।

हामीलाई बोध छ, गन्तव्यमा पुग्न अझै लामो बाटो तय गर्न बाँकी छ।हामी हाम्रा कमीहरु हटाउन र चुनौतीको सामना गर्न इमान्दार प्रयास गरिरहेका छौँ ।

नेपालले अहिलेसम्म लैंगिक सशक्तिकरण तथा समावेशिताका क्षेत्रमा हासिल गरेको उपलब्धि लामो र सामुहिक संघर्षको परिणाम हो ।  साँचो अर्थमा यो संघर्ष हजारौं महिलाको रिले दौड जस्तै एक पुस्ताले अर्को पुस्तालाई संघर्षको महान लक्ष्य हस्तान्तरण गर्दै सम्भव भएको छ ।

तसर्थ, यो पुरस्कारलाई मैले मेरा दिदीबहिनीहरु, आमाहरु र छोरीहरुको संघर्षको सम्मानको रुपमा लिएको छु र विनम्रतापूर्वक म यसलाई ग्रहण गर्दछु ।

धन्यवाद