माननीय परराष्‍ट्र मन्त्रीज्यू बंगलादेशको औपचारिक भ्रमण (२०७६ फागुन ५-७) सम्पन्‍न गरी स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा जारी प्रेस नोट

१. बंगलादेशका परराष्‍ट्र मन्त्री महामहिम Dr. A. K. Abdul Momen, MP को मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७६ साल फागुन ५ गते देखि ७ गते सम्मको बंगलादेशको भ्रमण सम्पन्‍न गरेर आज स्वदेश फर्केको छु । परराष्‍ट्र मन्त्रीको हैसियतमा बंगलादेशको यो मेरो पहिलो भ्रमण थियो ।

२. बंगलादेशका परराष्‍ट्र मन्त्रीसँग ढाकामा हिजो द्विपक्षीय वार्ता गरेको थिँए। प्रतिनिधिमण्डलको स्तरमा भएको उक्त वार्तामा नेपाल तथा बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवम् फलदायी बनाउन द्विपक्षीय हितका सबै पक्षहरूमा सारभूत छलफल भयो ।

३. साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवम् फलदायी बनाउँदै लैजाने समझदारी भएको छ ।

४. यसैगरी जलविद्युत लगायतका उर्जाका स्रोतहरूको विकास एवम् व्यापार गर्ने विषयमा सहमति भएको छ ।

५. अस्ति ढाका प्रस्थान गरेको दिन (फागुन ६) अपराह्न मैले बंगलादेशका माननीय वाणिज्यमन्त्री H. E. Mr. Tipu Munshi सँग भेटघाट गरेको थिएँ । सो अवसरमा नेपालको बंगलादेशमा निर्यात प्रबर्द्धन तथा दुवै मुलुकबीच कनेक्टिभिटी वृद्धि गर्ने सम्बन्धमा छलफल गरेको थिएँ ।

६. बैठकमा दुई देशबीच व्यापारको प्रबर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने विषयमा गहन छलफल भयो । त्यसको लागि दुई मुलकहरूबीच रहेका व्यापारका थप संभाव्यताहरूको खोजी गर्ने, अवरोधहरू हटाउने, शुल्कहरू घटाउने र नयाँ निर्यातयोग्य वस्तुहरुको उत्पादन वृद्धि गर्ने समेत सहमति भएको छ ।

७. बंगलादेशले नेपाललाई प्रदान गरेको पारवहन सुविधाको उच्चतम उपयोगका लागि बंगलादेशले सरल एवम् सहज ढङ्गबाट पारवहन सेवा प्रदान गर्ने विषयमा समेत सकारात्मक छलफल भयो ।

८. नेपालको उर्जा, कृषि, पर्यटन जस्ता क्षेत्रहरुमा बंगलादेशबाट लगानी अभिवृद्धि गर्ने बारेमा समेत बैठकमा समझदारी बनेको छ ।

९. पर्यटन क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्न समझदारी भएको छ । साथै, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बंगलादेशबाट नेपालमा बढीभन्दा बढी संख्यामा पर्यटकहरूको आगमनको लागि बंगलादेश सरकार एवम् जनतालाई आग्रह गरेको छु।

१०. दुई देशबीचको सम्पर्क संजाल (कनेक्टिभिटी) लाई अझ विस्तार गर्नका लागि दुई देशका नजिक रहेका सहरहरूबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्‍नति गर्ने, रेलमार्गको संजाल विस्तार गरी दुई मुलुकलाई जोड्ने, नेपालका नदीहरू भारत र बंगलादेशका नदीहरूमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको छ ।

११. बंगलादेशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरूले मेडिकल, इन्जिनियरिङ जस्ता क्षेत्रहरूमा अध्ययन गरिरहेको परिप्रेक्ष्यमा दुई देशबीच शैक्षिक क्षेत्रमा सम्बन्ध सुढृढ गर्दै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने समेत समझदारी बनेको छ ।

१२. भूगोल, संस्कृति, सभ्यता जस्ता पक्षहरूमा निकट रहेका छिमेकी मुलुकहरूको रूपमा दुई देशका नागरिकहरू बीचको सम्बन्धलाई अझ बढी सुढृढ बनाउने बारेमा समेत उक्त बैठकमा छलफल भयो ।

१३. द्विपक्षीय बैठक समापन पश्‍चात् दुवैजना परराष्‍ट्र मन्त्रीहरूद्वारा संयुक्त रूपमा सम्बोधन गरिएको पत्रकार सम्मेलनमा मैले बैठकको उपलब्धिहरुको बारेमा जानकारी गराउँदै बंगलादेशी नागरिकहरूलाई नेपालमा लगानी गर्न, पर्यटकको रूपमा भ्रमण गर्न एवम् जनस्तरमा सम्बन्ध सुधारको लागि योगदान गर्न आग्रह गरेको थिएँ ।

१४. भ्रमणको समयमा मैले बंगलादेशका राष्‍ट्रपति महामहिम मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री महामहिम शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेको थिएँ । त्यस अवसरमा मैले नेपाल तथा बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुढृढ बनाउदै दुवै देशका जनताहरूको हितमा अघि बढाउनुपर्ने कुरामा जोड दिएको थिएँ ।

१५. जलवायु परिवर्तन सम्बन्धी विश्‍वव्यापी समस्याको बारेमा छलफल गर्ने उद्देश्यले नेपाल सरकारले मिति २ देखि ४ अप्रिल २०२० मा काठमाडौंमा आयोजना गर्न गईरहेको “सगरमाथा सम्वाद” कार्यक्रममा बंगलादेशबाट उच्च तहको सहभागिता हुनका लागि मैले बंगलादेशका राष्‍ट्रपति तथा प्रधानमन्त्रीसँग आग्रह गरेको छु ।

१६. भ्रमणको समयमा बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेशनल स्ट्राटेजिक स्टडीज (BIISS) मा मैले नेपाल-बंगलादेश सम्बन्ध एवम् उपक्षेत्रीय सहयोगको संभाव्यता विषयमा मन्तव्य दिंदै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको थिएँ । उक्त कार्यक्रममा बंगलादेशका परराष्‍ट्र राज्यमन्त्री, उच्च सरकारी पदाधिकारीहरू, राजदूतहरू, प्राज्ञिक व्यक्तिहरू, अनुसन्धानकर्ताहरू एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

१७. हिजो मैले Bangabandhu Memorial Museum को भ्रमण गरी बंगलादेशका राष्‍ट्रपिता Sheikh Mujibur Rahman प्रति श्रद्धान्जली व्यक्त गरेको थिएँ । साथै, बंगलादेशका राष्‍ट्रपिता बंगबन्धु Sheikh Mujibur Rahman को जन्म शताब्दीको उपलक्ष्यमा मैले बंगलादेश सरकार तथा जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरें ।

१८. मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा परराष्‍ट्र सचिव, बंगलादेशका लागि नेपाली राजदूत, एवम् परराष्‍ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिवहरू रहनु भएको थियो।

१९. समग्रमा बंगलादेशको मेरो यो औपचारिक भ्रमण दुई देशबीचको सम्बन्धलाई विस्तार एवम् सुढृढीकरण गर्न सफल रहेको ठानेको छु ।

२०. दुवै देशका परराष्‍ट्र मन्त्रीहरूको औपचारिक बैठकको आयोजना एवम् मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यको लागि म बंगलादेश सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।