माननीय परराष्ट्र मन्त्री श्री प्रदिपकुमार ज्ञवालीले गर्नुभएको प्रेश ब्रिफिङ


परराष्ट्र मन्त्रालय, सिंहदरबार
2075 साल बैशाख 03 गते मंगलबार

संचारकर्मी मित्रहरु

  • परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि विभिन्न प्रसंगमा मेरो यहाँहरुसँग भेट भएकोको छ ।आज परराष्ट्र मन्त्रालयमा नै भेटगरी हाम्रो परराष्ट्र सम्बन्धको सामान्य दिशा र वर्तमान सरकारले कार्यभार सम्हालेपछिका केही विषयमा यहाँहरु समक्ष कुराकानी गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरेको हुं । सर्वप्रथम म यहाँहरु सबैलाई परराष्ट्र मन्त्रालयमा हार्दिक स्वागत गर्न चहान्छु ।
  • यहाँहरुलाई विदितै छ मुलुककको परराष्ट्र नीतिको अभिष्ट हाम्रो राष्ट्रिय हितको रक्षा गर्नु नै हो । नेपालको संविधान, 2072 ले नेपालको राष्ट्रिय हितको परिभाषा गरी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शन गरेकोछ । संविधानले निर्दिष्ट गरेजस्तैसंयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त, पंचशीलका सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मान्यताहरु नै नेपालको परराष्ट्र नीतिका प्रमूख आधारहरु हुन । नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधिनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्नु हाम्रो उद्देश्य हो । सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नलिने हाम्रो परराष्ट्रनीतिको ध्येय रहेको छ। आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता, न्यायपूर्ण र आपसी हितमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई मजबुत र प्रगाढ बनाउँछ भन्ने हाम्रो मान्यता हो । मित्रता र सम्बन्धको स्थायित्व एवं सुनिश्चचताले दिर्घकालीन सदभावलाई घनिभूत बनाउदछ भन्ने हाम्रो विश्वास रहेकोछ। एक समावेशी, प्रगतीशील, लोकतान्त्रिक मुलुककको रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र मुलुकमा आर्थिक सामाजिक विकास हासिल गर्ने दिशामा नेपालको कुटनीतिक संयन्त्रलाई परिचालन गर्ने हाम्रो लक्ष्य रहेको व्यहोरा म यँहाहरुलाई अवगत गराउन चहान्छु ।
  • छिमेकीहरुसँगको मैत्रिपूर्ण र सन्तुलित सम्बन्ध हाम्रो प्राथमिकता रहेको छ । हाम्रो विस्तारित छिमेकमा (Extended Neighbourhood) रहेका मित्रराष्ट्रहरुसँग पनि व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्दै जाने हाम्रो नीति छ । श्रमिक गन्तव्यको रुपमा रहेका मुलुकहरुसँग आपसी हित र पारस्परिक सदभावका आधारमा सम्बन्धलाई मजबुत बनाउने तथा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको हित संरक्षण गर्ने हाम्रो प्रमूख प्राथमिकता मध्ये एक हो ।ति मुलुकहरुसँग पनि व्यापार र लगानीका संभावना खोजी गरी प्रवर्द्धन गर्ने प्रयत्न रहनेछ । त्यसैगरी विश्वका प्रमूख शक्तिराष्ट्रहरु एवं नेपालका विकास साझेदारहरुसँग विश्वास र सदभावको सम्बन्ध कायम गरी नेपालको विकास र समृद्धिमा समर्थन र सहयोग जुटाउने हाम्रो नीति निरन्तर रहेकोछ ।
  • यहाँहरुलाई थाहै छ , सम्माननीय प्रधानमन्त्रीले हालैमात्र छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । धेरै हिसाबले यो भ्रमण मौलिक, भिन्न र सफल रहेको कुरा यँहाहरुलाई अवगतनै  छ । भ्रमणले आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुर्याएको  छ। छिमेकीहरुसँग आपसी विश्वास, समानता, सम्मान एवँ पारस्परिक लाभका आधारमा मर्यादित , सन्तुलित र व्यवस्थित सम्बन्ध कायम गर्ने दिशामा यो भ्रमण सफल भएकोछ। नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग र रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्नका लागि 3 छुट्टा छुट्टै वक्तव्य जारी भएको बारे यहाँहरुलाई अवगतनै छ । त्यसका अतिरिक्त द्विपक्षीय सम्बन्धका सबै महत्वपुर्ण विषय र मुद्धाहरुमा खुलस्त एवं पारदर्शिताका साथ दुई प्रधानमन्त्रीहरु बिच कुराकानी भएका छन । यो भ्रमणले हाम्रा दुई देश विचको सम्बन्धमा आगामी दिशालाई राम्ररी रेखाङ्‌कन गरेको छ भन्ने हामीलाई लागेको छ ।अबकोहाम्रो जोड पूर्व समझदारीहरुलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु हुनेछ ।
  • यस बिचमा सम्माननीय प्रधानमन्त्रीले काठमाण्डौस्थित कुटनीतिक समुदायलाई मुलुककको वर्तमान स्थिति र भावी गन्तव्य एवं प्राथमिकताहरुका बारेमा संबोधन गर्नु भएको छ । प्रधानमन्त्रीज्यूको संवोधनले परराष्ट्र नीतिमा वर्तमान सरकारका प्राथमिकताहरुर हाम्रो गन्तव्यलाई स्पष्ट पारेको छ । उक्त संबोधनमा समेटिएका विषय र प्राथमिकताहरुले सरकारका आगामी क्रियाकलापहरुलाई मार्गनिर्देश गरेका छन । वर्तमान सरकारको शुरुवाती दिनमा हाम्रा मित्रहरु एव विकास साझेदारहरुसँग भएको यस प्रकारको संवादले संक्रमणकाल पारगरी स्थायित्व, शान्ति र विकासको मार्गमा अधि बढ्दै गरेको नेपालको आगामी दिनका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई प्रष्ट पार्ने अवसर दिएको छ।
  • नयाँ सरकारको गठन सँगै प्रदेशहरुमा पनि निर्वाचित सरकारहरुले कार्यारम्भ गरेका छन् । संधियताको नौलो अभ्यासलाई सकेसम्म सहज र निरापद बनाउन प्रदेश र स्थानीय तहलाई हरसम्भव सहयोग पुर्याउने काममा सरकार जुटेको छ । त्यस सिलसिलामा प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरु तथा संघीय सरकारका पदाधिकारीहरुसँग कुटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलन अनुकूल सहजर व्यवस्थित बनाउने प्रयास भएका छन् । परराष्ट्र मन्त्रालयले यस्ता भेटघाटहरुमा सहजीकरण गरेको छ ।नेपाल सरकारका पदाधिकारीहरुमा पनि यस्ता भेटघाट र सम्पर्कहरुलाई पद्धतिबद्ध र मर्यादित बनाउने कुरामा सचेतना बढाउने काम भएकोछ। कुटनीतिक आचारसंहिता पालन गर्ने गराउने कार्यमा सबै क्षेत्रबाट शुभेक्षा रसहयोग प्राप्त भएकोछ ।
  • केही दिन अघि परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा यहाँहरुलाई जानकारी गराएकै छ , छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री महामहिम श्री वाङयिको मैत्रीपुर्ण निमन्त्रणामा आज म औपचारिक भ्रमणका लागि मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्दैछु । म यही अप्रिल 21 मा स्वदेश फर्कनेछु । भ्रमणका दौरानमा मैले मेरो समकक्षी महामहिम श्री वाङ यि संग औपचारिक द्विपक्षीय भेटघाट गर्नेछु । तत्पश्वात हामी दुईले संयुक्त रुपमा प्रेसलाई संवोधन गर्ने कार्यक्रम रहेको छ । बेजिङ्‍ग बसाईको समयमा त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेकोछ ।यसको विस्तृत जानकारी तय हुनासाथ परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने छ । साथै बेजिङ्‍गमा रहदा चाइनिज थिङ्कट्यांकको राउण्डटेबल बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेजिङ्‍ग पछि मैले सिचुआँन प्रान्तको छेन्दु शहर पुग्ने कार्यक्रम रहेको छ । त्यहा मैले सिचुआँन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट रसिचुआँन विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रमलाई संवोधन गर्ने कार्यतालिका रहेको छ । मेरो भ्रमण दलमा चीनका लागि नेपाली राजदूत , परराष्ट्र मन्त्रालयका अधिकारी  र दुतावासका अधिकारीहरु सम्मिलित हुनेछन् ।
  • यँहाहरुको जिज्ञाशाका लागि फ्लोर खुला गर्नु अघि एक सामान्य कुरामा म यहाँहरुको ध्यानाकर्षण गराउन चहान्छु । मलाई विश्वास छ यसलाई यहाँहरुले अन्यथा लिनु हुनेछैन । परराष्ट्र मामिलामा रिपोर्ट गर्नुहुने यहाँहरु र परराष्ट्र मामिलामा काम गर्नुपर्ने हामीहरुको जिम्मेवारीमा धेरै हदसम्म समानता छ । विदेश मामिलाको कतिपय विषय गंभीर र संवेदनशील हुने तथा हाम्रा विदेशी मित्रराष्ट्रहरुसँगको कुटनीतिक प्रकृयासँग प्रत्यक्ष जोडिने हुँदा यसबारेमा विमर्श, छलफल र लेखनीमा हामीहरु सबैले आ-आफ्नो ठाँउबाट अपनाउनुपर्ने गंभिरता र जिम्मेवारी बोधको महत्व उच्च रहेकोछ।यो जिम्मेवारीमा मलाई सघाउन यहाँहरुलाई अनुरोध गदै जनतालाई सु-सुचित गर्ने हाम्रो सामुहिक दायित्वमा मेरो र परराष्ट्र मन्त्रालयको तर्फबाट सधैँ सहयोग रहने विश्वास दिलाउदछु ।यस प्रकारका प्रेस ब्रिफिङलाई नियमति बनाउदै लैजाने हाम्रो उद्देश्य रहेको छ ।आवश्यकता अनुसार यस्ता ब्रिफिङ परराष्ट्र मन्त्री, परराष्ट्र सचिव वा प्रवक्ताद्वारा गराउने प्रयत्न गरिनेछ ।
  • अब यहाँहरुको प्रश्नहरुका लागि फ्लोर ओपन गर्दछु ।

धन्यवाद ।