प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको दोस्रो बैठक आज मिति २०७८/५/१ मा बस्यो।

मित्रराष्ट्रहरुसंगको निरन्तर प्रयास र समन्वयमा आज मिति २०७८/०५/०१ मा ११८ जना नेपाली नागरिकहरू काठमाण्डौ आइपुग्नु भएको छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहांहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

उहांहरुको साथमा सोही उडानबाट आउनु भएका ९ जना भारतीय नागरिकहरूलाई स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी काठमाडौंस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ।

अफगानिस्तानबाट उद्धार भई कुवेत आइपुग्नु भएका थप नेपाली नागरिकहरू आज राती अर्को चार्टर विमानबाट काठमाण्डौ आइपुग्दै हुनुहुन्छ ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म २५६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गर्नुभएको छ। तहाँ रहनुभएका थप नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

उद्धारको पर्खाइमा अफगानिस्तानमा रहनु भएका नेपालीहरूलाई उद्धार नहुँदा सम्म जो जहाँ रहनुभएको छ तोकिएको सम्पर्क नम्बरहरूमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रूपमा रहन अनुरोध गरिन्छ।

उद्धार गर्ने कार्यमा संस्थागत रूपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत उद्धार प्रकृयामा सहयोग गर्न अनुरोध गरिएको छ ।

त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।

उद्धार कार्यका लागि सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा अन्तर्गत नायव शिष्टाचार महापालको नेतृत्वमा निम्न बमोजिमको फोन नम्वर तथा ईमेल ठेगानासहितको Situation Room को स्थापना गरिएको छ।

पद मोवाईल नम्वर ईमेल ठेगाना
नायव शिष्टाचार महापाल ‌‌+९७७ ९८६०४३६४८१ rewati.paudel@mofa.gov.np
शिष्टाचार अधिकृत +९७७ ९८४१ ७९२७७४ anil.lamsal@mofa.gov.np
नायव सुब्बा +९७७ ९८४९ ८१११०० gyanhari.gyawali@mofa.gov.np

नयां दिल्लीस्थित नेपाली राजदूतावासबाट अफगानिस्तानमा रहनुभएका नेपाली नागरिकहरु, कूटनीतिक नियोगहरु, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग उद्धार कार्यका लागि नियमित सम्पर्क र समन्वय भैरहेको छ ।

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०१