प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवर्द्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले २०७८ श्रावण २७ देखि २९ सम्म नेपाली निर्यातजन्य वस्तुहरू निकासी गर्ने उद्यमी व्यवसायीहरू र विदेशस्थित नेपाली नियोग प्रमुखहरू तथा अन्य कर्मचारीहरू बीच भर्चुअल अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

परराष्ट्र सचिवको समुपस्थितिमा भएको उक्त तीन दिने कार्यक्रममा विदेशस्थित नेपाली नियोग प्रमुखहरू लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रतिनिधि, तथा निर्यात व्यवसायी महासंघ र विभिन्न वस्तुगत महासंघका प्रतिनिधि र निर्यात व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवर्द्धनमा व्यवसायीहरू एवम्, नेपाली नियोगहरू लगायत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्था, आगामी लक्ष र यसकार्यमा नेपाली नियोगहरूसँग गरिएको अपेक्षा वारेमा छलफल भएको थियो ।यसैगरी विदेशमा नेपाली निर्यातजन्य वस्तुहरूको बजारको सम्भाव्यता, त्यसका लागि निर्यात व्यवसायी महासंघबाट तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रबाट गरिएको अपेक्षा सम्बन्धमा समेत छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रमबाट नेपाली नियोग र नेपाली निर्यातजन्य वस्तुका उत्पादक तथा व्यापारीहरूसँगको समन्वय, सहकार्य र सूचना आदानप्रदानमा अभिवृद्धि भई आगामी दिनमा नेपालको निर्यात वृद्धिमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरू र नेपालको व्यापार, लगानी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र/व्यक्ति तथा अन्य सरोकारवालाहरूबीच विभिन्न चरणमा नियमित अन्तर्क्रिया गराउने लक्ष लिएको छ।

परराष्ट्र मन्त्रालय
सिँहदरवार, काठमाण्डौं ।
२०७८।४।२९