प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको लिपुलेक हुँदै जाने बाटोको भारतीय पक्षबाट हालै भएको उदघाटन एवं नेपाल-भारत सीमा सम्बन्धी विषयहरूमा छलफल गर्नका लागि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठकको आयोजना गर्नु भयो। उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरू र संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको समुपस्थिति रहेको थियो।

बैठकमा उपस्थित सबै राजनीतिक दलका नेताहरूले सुगौली सन्धि अनुसार काली (महाकाली) पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भू-भाग नेपालको भएकोले सो क्षेत्र सहित दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिनु भयो। साथै, उहाँहरूले उक्त कार्यका लागि नेपाल सरकारलाई सबै राजनीतिक दल तथा नेपाली जनताको तर्फबाट पूर्ण साथ रहेको विश्वास दिलाउनु भयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको सार्वभौमसत्ता, स्वाधिनता र अखण्डताको रक्षाका लगि नेपाली जनता र सबै राजनीतिक दलहरूबीच समान धारणा हुनु सुखद पक्ष रहेको व्यक्त गर्दै ऐक्यवद्धताका लागि सबै राजनीतिक दलहरूलाई धन्यवाद प्रकट गर्नु भयो। उहाँले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सुल्झाउन बाँकी सीमा सम्बन्धी समस्याहरू वार्ताद्वारा समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नु भयो।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
काठमाण्डौ
२०७७ बैशाख ३१