प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 

सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरुको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ (एकतिस) जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ (उन्नाईस) जनामा १३ (तेह्र) जना नेपाल आइपुगेका छन्। ६ (छ) जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुवइस्थित शाखामा स्थानान्तरण भएका छन्। चीनिया कम्पनीमा कार्यरत १ (एक) जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भैसकेको छ।

अन्य १२ (बाह्र) जना मध्ये ९ (नौ) जना नेपाली नागरिकहरु भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेका छन्। स्वेच्छाले सुडानमै रहेका ३ (तीन) जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा १ (एक) जना पोर्ट सुडानमा र दुई (२) जना सुडान-इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन्। उक्त तीनै जना नेपाली नागरिकहरु कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भैसकेको छ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ। उद्धार प्रकृयामा सहयोग पुर्‍याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति नेपाल सरकार हार्दिक धन्यवाद प्रकट गर्दछ।

 

परराष्ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौं
मितिः २०८०/०१/२१