नेपाली कामदारहरु माथी काबुलमा भएको घटना र तत्पश्चात नेपाल सरकारले गरेको उद्धार लगायतका कार्यहरुबारे संक्षिप्त जानकारी

नेपाली कामदारहरु माथी काबुलमा भएको घटना र तत्पश्चात नेपाल सरकारले गरेको उद्धार लगायतका कार्यहरुबारे संक्षिप्त जानकारी

  • यही २०७३ अषाढ ६ गते सबेरै अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा परी १३ जना निर्दोष नेपाली नागरिकले दुखद रुपमा ज्यान गुमाउनु परेको तथा ६ जना नेपालीहरु घाइते हुनुभएको छ l
  • अफगान सरकार र घटनामा परेका नेपाली नागरिकहरु कार्यरत रोजगारदाता ब्रिटिश कम्पनी Sabre International बाट लिइएको जानकारी अनुसार उहांहरु कामको अदली-बदली (Shift Change) गर्न काबूलको Banae Area स्थित कम्पनीबाट क्यानडियन दूतावास जाने क्रममा जलालाबाद रोडमा बिहान ५:४० बजे उहांहरु चढ्नु भएको मिनी-बस बम आक्रमणमा परेको बुझिन आएको छ l
  • सम्माननीय प्रधानमन्त्रीवाट घटनाको निन्दा गर्दै वक्तव्य जारी भएको छ ।
  • त्यसैगरी घटनाको बारेमा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले व्यवस्थापिका संसदमा मिति २०७५।३।६ को वैठकमा जानकारी गराउनु भएको छ ।
  • साथै, घटना र त्यसपछि नेपाल सरकारले गरेका कार्यहरुबारे माननीय उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री को तर्फबाट परराष्ट्र सचिवले ब्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितीमा उपस्थित भई जानकारी गराउनुभएको छ ।
  • घटनाक्रमबारे थाहा हुनासाथ मृतकको सनाखत र घाइतेको यकिन विवरण इस्लामाबादस्थित नेपाली राजदूताबास मार्फत लिई परिवारजनलाई घटनाको बारेमा परराष्ट्र मन्त्रालयले अवगत गराएको छ । घाइतेको उपचार र मृतकको शब नेपाल ल्याउने कार्यमा आवश्यक समन्वयका लागि इस्लामाबादस्थित नेपाली कार्यबाहक राजदूतलाई तत्काल काबुल जान निर्देशन गरिएको र वहां हाल काबुल पुगी समन्वयको कार्य गरिरहनु भएको छ ।
  • साथै, घटनाका सम्बन्धमा मृतकका परिवारहरुलाई आवश्यक सूचना प्रवाह गर्ने तथा त्यस सम्बन्धी अन्य कार्यको समन्वयका लागि परराष्ट्र मन्त्रालयमा एक सम्पर्क अधिकृत तोकि निजको सम्पर्क नम्बरहरु सबैको जानकारीका लागि प्रसार गरिसकिएको छ । (सम्पर्क अधिकृत श्री सुधिर भट्टराई; Toll Free No 16600100186; mobile no: 9860450371; email:rescue@mofa.gov.np)
  • घटनाको बिषयमा समवेदना प्रकट गर्न सम्माननिय राष्ट्रपतीज्यू र अफगानिस्तानका महामहिम राष्ट्रपती बिच २०७३।३।७ का दिन टेलिफोन सम्बाद भएको छ। मृतकको शव स्वदेश फिर्ती, घाइतेको उपचार र त्यहां रहेका नेपाली कामदारहरुको सुरक्षा सुनिश्चत गर्न सम्माननिय राष्ट्रपतीज्यूले अफगान समकक्षी समक्ष आग्रह गर्नुभएको छ ।
  • घाइतेको उपचार प्रबन्ध सुनिश्चित गर्न र मृतकको शब नेपाल झिकाउने कार्यमा अफगान सरकारको तर्फवाट प्राथमिकताका साथ सहयोग र समन्वय गरिदिन अफगानिस्तानका परराष्ट्र मन्त्री महामहिम सलाहुदिन रब्बानीसंग मा. उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीज्यूले टेलिफोन वार्ता गर्नुभएको छ । वहांले अफगान सरकारको तर्फवाट सम्पूर्ण सहयोग दिलाउने बिश्वास दिलाउनु भएको छ । साथै, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीज्यूले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षा सुनिश्चित गर्न समेत अफगानिस्तान सरकारको ध्यानाकर्षण गराउनु भएको
    छ l
  • सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा घटनामा मृतक नेपाली नागरिकहरुको शव शिघ्र नेपालमा ल्याउनको लागि नेपाल वायूसेवाको बिशेष चार्टर बिमान काबुल पठाई २०७३।३।८ दिनको २:४० बजे शवहरु र तत्काल फर्किन चाहने २४ जना नेपाली कामदारहरु समेत लिई नेपाल आएको छ ।
  • स्वदेश ल्याईएका शवहरु लाई सम्मान पूर्वक श्रदान्जली अर्पण गर्न तथा परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्न सम्माननीय प्रधानमन्त्री तथा माननीय उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुभएको थियो । श्रदान्जली अर्पण गर्न मा. श्रम तथा रोजगार मन्त्री, मा. पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मा. गृह मन्त्री, मा. स्थानिय विकास राज्य मन्त्री, परराष्ट्र सचिव सहित नेपाली सेना, नेपाल प्रहरी समेतका उच्च अधिकारीहरु विमानस्थल जानुभएको थियो ।
  • शब फिर्ता प्रक्रियालाई सहयोग र समन्वय गर्न २०७३।३।७ को बिहान मा. उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा माननीय पर्यटन मन्त्री सहित गृह मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायूसेवाका प्रतिनिधीहरु सम्मिलित आकस्मिक वैठक परराष्ट्र मन्त्रालयमा बसेको थियो। उक्त वैठकले सम्माननीय प्रधानमन्त्रीज्यू को निर्देशन बमोजिम तत्काल नेपाल वायूसेवा निगमको बिशेष विमान काबुल पठाउनको लागि आवश्यक प्राविधिक, कुटनीतिक, व्यस्थापकिय र बन्दोवस्ती मिलाउने कार्य सुरु गरेको थियो । सवै निकायहरुको तदारुकतापूर्ण सहयोग र समन्वयले त्यसको २७ घन्टामा काबुलबाट मृतक नेपाली नागरिकहरुका शव तथा ईच्छुक २४ जना कामदारहरुलाई स्वदेश ल्याउन सम्भव भएको हो ।
  • त्यसअघि मृतकको शवको बारेमा पुर्याउनुपर्ने Medico-legal Procedure र चार्टर विमानलाई काबुलमा अवतरण अनुमती तथा बाटोमा पर्ने मुलुकहरुको Over Flight Permission को लागि आवश्यक प्राविधिक तथा कुटनीतिक प्रक्रिया एकैसाथ सुरु गरिएको थियो जसको कारण शिघ्र उडान गरी शवहरु नेपाल ल्याउन सम्भव भएको हो ।
  • बिशेष चार्टर विमानमा आवश्यक समन्वय तथा आकस्मिक मेडिकल सहायताको लागि परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम मन्त्रालय, नेपाली सेनाको मेडिकल टिम र नेपाल प्रहरीका प्रतिनिधीहरु समेत काबुल जानुभएको थियो ।
  • नेपाल ल्याइएका शबहरु मृतकका परिवारमा हस्तान्तरण गर्न र आवश्यक परेमा घर ठेगानामा पुर्याउने कार्यको समन्वय गृह मन्त्रालयबाट भएको छ । बिशेष विमानबाट ल्याईएका शवहरु सम्बन्धित परिवारलाई हस्तान्तरण गरी उहांहरुको आग्रहमा ७ वटा शवहरु हेलिकप्टरवाट घर ठेगाना सम्म पुर्याइदिने व्यवस्था समेत नेपाल सरकारले गरेको हो ।
  • उपचारको क्रममा निधन भएका नेपाली नागरिक च्याङवा तामाङ (नुवाकोट) को शव २०७३।३।१० मा काठमाडौ ल्याई परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।
  • घाईते ६ जना नेपाली नागरिकहरु काबुलबाट Medical Evacuation गरी नयांदिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत रहनुभएको छ । २०७३।३।१० सम्म उहांहरुको स्वास्थ अवस्थामा राम्रो सुधार भईरहेको जानकारी प्राप्त भएको छ ।
  • मृतकका परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने र हाललाई अफगानस्तानमा बैदेशिक रोजगारीका लागि नेपाली नागरिकहरुलाई पठाउन रोक लगाउने निर्णय नेपाल सरकार मन्त्रिपरिषदले २०७३।३।९ मा गरेको छ । मृतकहरुले सम्बन्धित कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति दिलाउनको लागि कुटनीतिक प्रयास गरिनेछ।
  • आतंककारी हमलामा परेकाहरु निर्दोष नेपाली नागरिक हुन् l रोजगारीको सिलसिलामा non-combating जिम्मेवारीमा रहेका निहत्था व्यक्तिमाथि भएको यो मानवता विरुद्धको आक्रमण तथा जघन्य अपराध हो भन्ने नेपाल सरकारको धारणा रहेको छ ।
  • आतंकबादका सबै प्रकार एवं स्वरुपलाई भत्सर्ना गर्ने नेपाल सरकारको स्पष्ट अडान रहिआएको छ l यसै पृष्ठभूमिमा नेपाल सरकार यस घटनाको जोडदाररुपमा भत्सर्ना गर्दै घटनाका पछाडि रहेको अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने बिश्वास लिएको
    छ l
  • घटनाको छानविन गर्न तथा त्यहां रहेका नेपालीहरुको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले अफगानस्तान सरकारलाई अनुरोध गरिसकेको
    छ ।

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
सिंहदरबार

 

१) २० जुन २०१६ मा काबुलमा भएको विस्फोटमा परि मृत्यू हुने नेपाली नागरिकहरु Click here 

२) २० जुन २०१६ मा काबुलमा भएको विस्फोटमा परि घाइते भएका नेपाली नागरिकहरु Click here