जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट


जापानको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट
मंसिर ७, २०७५
(नोभेम्बर 23, २०१८)

उपस्थित पत्रकार मित्रहरु,

  • मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री महामहिम श्री तारो कोनोको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मंसिर १ देखि ५ ,२०७५(तदनुसार नोभेम्बर 17‒२१, २०१८) सम्म जापानको औपचारिक भ्रमण तथा मंसिर ६ गते थाइल्याण्डको भ्रमण गरी आज स्वदेश फर्केको छु। मेरो भ्रमण बारेमा विभिन्न संचारमाध्यमहरुबाट तपाइँहरु अवगत नै हुनुहुन्छ।तथापि भ्रमणका बारेमा म तपाइँहरुलाई देहाय बमोजिम जानकारी गराउन चाहन्छु।
  • भ्रमणका क्रममा मैले जापानी विदेशमन्त्री महामहिम तारो कोनोसंग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता गरें।
  • जापानका परराष्ट्रमन्त्री महामहिम तारो कोनोसंगको प्रतिनिधिमण्डलस्तरमा भएको द्विपक्षीय भेटका अवसरमा नेपाल‒जापान द्विपक्षीय सम्वन्धका सवै पक्षहरुमा छलफल भयो।द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदान गराउनुपर्छ भन्नेमा हामी दुवै पक्ष सहमत भएका छौं।भेटवार्ताको क्रममा मैले नेपालको पछिल्लो राजनीतिक विकासक्रम तथा सरकारका प्राथमिकताहरुको बारेमा जानकारी दिएँ।साथै‚ आर्थिक विकासको लागि सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरु जस्तै कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण‚ उर्जा उत्पादन‚ पूर्वाधार विकास‚ पर्यटन तथा मानव श्रोतको विकासमा जापानी सरकारको सहयोगको लागि अनुरोध गरेँ।यसैगरी नेपालमा जापानी लगानी प्रवर्द्धन‚ नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि सहयोग‚ नेपालीहरुका लागि जापानमा रोजगारी खुला गर्न तथा नेपाली वायुसेवा निगमको नेपाल र जापानबिच शीघ्र सिधा उडानको लागि सहयोग गर्न समेत अनुरोध गरेँ। उक्त अवसरमा नेपालको सामाजिक आर्थिक विकास प्रयासमा जापान सरकारले पुर्याएको निरन्तर सहयोग एवं सन् २०१५ को विनासकारी भूकम्प पश्चात नेपाललाई उद्दार‚ राहत वितरण तथा पुनर्निर्माण कार्यमा गरेको सहयोगका लागि धन्यवाद दिएँ।
  • जापानी विदेशमन्त्री महामहिम तारो कोनोले जापानले निरन्तर रुपमा नेपाललाई सहयोग गर्ने बारेमा आश्वास्त पार्नुभयो। साथै‚ उहाँले वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई सफल पार्न जापान सरकारको पूर्ण सहयोग रहने तथा पूर्वाधार विकास तथा सम्पर्क सन्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ विपद न्युनीकरण लगायतका क्षेत्रहरुमा नेपाललाई सहयोग गर्न जापान सरकार तयार रहेको बताउनु भयो।
  • यसैगरी हामी दुवै परराष्ट्रमन्त्रीको उपस्थितिमा एक समारोहकाबिच जापान सरकारले नेपाल सरकारलाई ३५० मिलियन जापानी ऐन बराबरको अनुदान नेपालमा खाद्य सहायता कार्यक्रम संचालन गर्न उपलब्ध गराउने सम्वन्धी सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा तथा नेपालका लागि जापानका राजदूत महामहिम माशामिची साइगोले आ-आफ्नो सरकारको तर्फबाट हस्ताक्षर गर्नुभयो।
  • भ्रमणकोक्रममा मैले जापानका कृषि‚ वन तथा मत्स्य मामिला सम्बन्धी मन्त्री महामहिम ताकामोरी योसिकावा, जापान-नेपाल संसदीय मैत्री समूहका सभापति एवं लिवरल डेमोक्रेटिक पार्टीका महासचिव महामहिम तोसिहिरो निकाइ र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. शिनिची कितायोकासंग भेट गरेँ भने जापान-नेपाल सोसाइटीद्वारा आयोजित दिवाभोज कार्यक्रममा सहभागी भएँ।
  • जापानका कृषि मन्त्रीसंगको भेटमा मैले नेपालको कृषि क्षेत्रमा जापान सरकारले पुर्याएको सहयोगको लागि धन्यवाद दिदै कृषि क्षेत्रमा विकास तथा आधुनिकीकरण, बजार विकास तथा मूल्य श्रृङखला (Value Chain) को लागि अझ बढी सहयोग गर्न अनुरोध गरेँ।त्यसैगरी नेपालमा अर्गानिक खेती लगायतका क्षेत्रमा लगानी एवं प्रविधि हस्तान्तरणका लागि जापानी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न समेत गनुरोध गरेँ।जापानी कृषि मन्त्रीले नेपालको कृषि क्षेत्रको आवश्यकता अनुसार जापान सरकारले सहयोगमा अभिबृद्धि गर्नेमा आश्वस्त पार्नु भयो।
  • त्यसैगरी जापान-नेपाल संसदीय मैत्री समूहका सभापति एवं लिवरल डेमोक्रेटिक पार्टीका महासचिवसंगको भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न संसदीय समुहले महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले दुबै देशका सासंदहरुबिच भ्रमणहरुको आदानप्रदान हुनु पर्नेमा मैले जोड दिएँ।वहाँले जापानको सहयोग नेपाललाई निरन्तर रहने बारेमा आश्वस्त पार्नु भयो। सो अवसरमा नेपालको संघीय संसदको तर्फबाट नेपाल भ्रमणको लागि गरिएको निमन्त्रणा पत्र मैले वहाँलाई हस्तान्तरण गरेको छु।
  • जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसंगको भेटमा मैले जाइकाले नेपालको सामाजिक आर्थिक विकासमा पुर्याएको योगदान तथा मानवीय सहयोगको लागि धन्यवाद दिएँ। साथै‚ मैले वहाँलाई नेपालमा आर्थिक समृद्धि हासिल गर्न कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण‚ उर्जा‚ पूर्वाधार विकास‚ पर्यटन तथा मानव श्रोतको विकासमा जापानी सरकारको सहयोगको लागि अनुरोध गरेँ।वहाँले नेपालमा संचालनमा रहेका परियोजनाहरु एवं अन्य प्राथमिकताप्राप्त परियोजनाहरुमा जापान सरकारको निरन्तर सहयोग रहने बताउनु भयो।
  • जापान-नेपाल सोसाइटीका अध्यक्ष श्री मिचुआकी कोजिमाद्वारा आयोजित कार्यक्रममा आफ्नो भनाइ राख्नेक्रममा सोसाइटिले जापानमा रहेको नेपाली समुदायको हित प्रवर्द्धनमा सहयोग गरेकोलागि धन्यवाद दिदै नेपालमा जापानी लगानीको प्रवर्द्धन गर्न र दुई देशबिच जनस्तरको सम्पर्क थप विस्तार गर्न सेतुको काम गर्नुपर्नेमा कुरामा जोड दिएँ।त्यस अवसरमा बोल्दै जापानको विदेश मन्त्रालयका संसदीय मामिला उप विदेशमन्त्री महामहिम नोरिकाजु सुजुकीले नेपाललाई जापानको सहयोग निरन्तर रहने दोहर्याउनु भयो।
  • भ्रमणकोक्रममा मैले टोकियोस्थित संयुक्त राष्ट्रसंघ विश्ववद्यालयको मुख्यालयमा नेपाली राजदूताबास‚ Japan External Trade Organization (JETRO) तथा UNIDO, ITPO, Japan द्वारा संयुक्त रूपमा आयोजित नेपालमा लगानी सम्बन्धी सेमिनारमा भाग लिई त्यसमा आफ्नो मन्तव्य (Keynote Speech) राखेँ। १५० जना भन्दा बढी प्रतिष्ठित जापानी लगानीकर्ता, व्यवसायी एवं पत्रकारहरुको उपस्थिति रहेको उक्त सम्मेलनमा मैले नेपालमा हालै भएको राजनीतिक रुपान्तरण, सरकारका प्राथमिकताहरु र नेपालमा विदेशी लगानी आकर्षित गर्न अवलम्बन गरिएका सरकारका नीतिहरुको बारेमा प्रकाश पार्दै जापानी लगानीकर्ता तथा व्यवसायीहरुलाई कृषिको विकास र आधुनिकीकरण, जलविद्युत उत्पादन, पूर्वाधार निर्माण, सूचना प्रविधि, पर्यटन, सेवा लगायतका क्षेत्रहरुमा नेपालमा लगानी गर्न आह्वान गरेको छु। त्यस अवसरमा मैले वहाँहरुलाई नेपालमा हुने लगानीमा सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिएको छु। सोहि अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटन व्यवसायीहरुलाई नेपालको पर्यटन सम्भावनाहरुको बारेमा जापानी जनतामाझ प्रचारप्रसार गर्न र वहाँहरुलाई नेपाल भ्रमणको लागि प्रोत्साहित गर्न समेत अनुरोध गरेको छु।उक्त कार्यक्रममा लगानी बोर्ड नेपालका कार्यकारी निर्देशकले नेपालमा प्रचलित नियम कानून, प्रकृया तथा लगानीका लागि विभिन्न क्षेत्रमा उपलब्ध फाइदाजनक परियोजनाहरुका वारेमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नु भयो। उक्त अवसरमा जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा, लगानी बोर्ड नेपालमा कार्यरत जाइका विज्ञ (JICA Expert) श्री मिकिओ तामादा, इकेन कम्पनी लिमिटेड (EIKEN Co. Ltd.) का प्रमुख कार्यकारी अधिकृत श्री हिडेआकी हाचिया तथा UNIDO ITPO Tokyo का उप-प्रमुख श्री फेर्डा गेलेगेनले पनि आ-आफ्नो भनाई राख्नुभएको थियो ।
  • यसैगरी मैले गैह्र-आवासीय नेपाली राष्ट्रिय समन्वय समिति जापानद्वारा आयोजित दिवाभोज सहितको नेपाल-जापान कूटनीतिक सम्बन्ध बिषयक अन्तरकृया कार्यक्रममा सहभागी भई त्यहाँ उपस्थित नेपाली मित्रहरुलाई जापानी लगानी, प्रविधि, ज्ञान र सिप नेपालमा ल्याइ नेपालको आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गरेँ। त्यस्तै नेपाली राजदूतले आयोजना गर्नु भएको स्वागत समारोह (Reception) मा उपस्थित भई जापानका सांसद, थिङ्क ट्याङ्क, प्राज्ञिक क्षेत्रमा कार्यरत वुद्धिजिवीहरु, ब्यापारिक समुदाय, जापानी मित्र तथा विभिन्न पेशा व्यवसाय गरी बसिरहेका नेपाली मित्रहरुसंग नेपाल-जापान सम्वन्धको सुदृढीकरण एवं द्विषक्षीय सहयोग विस्तारका संभावनाहरुका वारेमा कुराकानी भयो।
  • मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत एवं परराष्ट्र मन्त्रालय तथा टोकियोस्थित नेपाल राजदूताबासका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो।
  • समग्रमा मेरो जापान भ्रमणमा त्यहाका नेता एवं सांसदहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक तथा सन्तोषजनक रह्यो। त्यसैगरी मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा जापानी लगानीको प्रवर्द्वन, जापानमा नेपालको पर्यटन प्रवर्द्वन, दुबै मुलुकबिच सिधा हवाई सम्पर्क एवं जापानको श्रम बजारमा नेपाली श्रमिकहरुको प्रवेश गराउन मद्दत पुग्ने विश्वास लिएको छु।तसर्थ मेरो भ्रमणवाट आपसी मित्रता, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्धलाई अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास छ। नेपाल फर्कने क्रममा हिजो मैले नेपाली राजदूतावास, बैंककको निरीक्षण गर्नुका साथै थाइल्याण्डमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु र नेपालसँग सम्बन्ध रहेका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुसँग भेटघाट र विभिन्न विषयमा छलफल गरेको छु ।
  • मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यताको लागि म जापान सरकारको विदेश मन्त्रालयलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

धन्यवाद।