आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
अफगानिस्तानको राजधानी काबुलमा आज बिहान सबेरै आतंकबादीहरूको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा ७ जना नेपालीहरु घाइते भएको घटना बाट म अत्यन्त मर्माहत र दुखित भएको छु l
यस दुखद घडिमा दिवंगत नेपाली दाजुभाईहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो समवेदना प्रकट गर्दछु l साथै, घाइते दाजुभाईहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु l
रोजगारीको सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो l म यस घटनाको घोर भत्सर्ना र निन्दा गर्दछु l साथै, यस घटनाको पछाडि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिस्वास रहेकोछ l आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता रहेको छ l
घटनाको एकिन विवरण लिन तथा मृतकहरुको सव नेपाल फिर्ता पठाउन, घाइतेहरुको स्वास्थ्योपचार सुनिस्चित गर्न, तथा अन्य आवश्यक कार्यहरुको लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावासबाट आवश्यक कार्य सुरु भईसकेको व्यहोरा समेत सबै नेपाली दाजुभाई तथा दिदीबहिनी समक्ष अनुरोध गर्न चाहन्छु l साथै, यस कार्यमा मित्र राष्ट्र अफगानिस्तानको सरकार र अन्य सम्बन्धित क्षेत्रबाट आवश्यक सहयोग हुनेछ भन्ने बिस्वास लिएको छु l
के. पी. शर्मा ओली