माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूले भारतका महामहिम विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा २०८१ भदौ २-६ तदनुसार १८-२२ अगष्ट २०२४ मा गर्नुभएको भारतको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट
(२०८१ भदौ ६)
सञ्चारकर्मी मित्रहरू,
- मित्रराष्ट्र गणतन्त्र भारतका विदेशमन्त्री महामहिम डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गरी म आज स्वदेश फर्केको छु।
- भ्रमणका अवसरमा भएका गतिविधिहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति समेत मार्फत् यहाँहरु अवगत नै हुनुहुन्छ।
- भ्रमणका दौरान २०८१ भदौ ३ गते (तदनुसार १९ अगष्ट २०२४) का दिन भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा मैले शिष्टाचार भेट गरेँ। सो अवसरमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भयो । भेटका बखत सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यानो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा हस्तान्तरण गरेँ।
- यसअघि, सोही दिन नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतका विदेशमन्त्री महामहिम डा. एस जयशंकर र मेरोबीच द्विपक्षीय भेटघाट भयो। सो अवसरमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यिय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायत नेपाल-भारत सम्बन्धका समग्र पक्षमा छलफल भयो। त्यसका अलावा द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुबै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भयो। साथै, विदेशमन्त्री डा. जयशंकरले सोही स्थानमा मेरो सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा म सहभागी भएँ ।
- उपरोक्त दुबै अवसरमा मेरो साथमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव श्री भृगु ढुंगाना तथा नेपाली राजदूतावासका मिनिष्टर काउन्सेलर श्री दुरपदा सापकोटा सहभागी हुनुहुन्थ्यो ।
- नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै नेपालका मित्रहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो।
- यस भ्रमणले नेपाल र भारतबीच आपसी सदभाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको मैले विश्वास लिएको छु। साथै, भ्रमणले आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन समेत गरेको छ।
- अन्त्यमा, यस भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका महामहिम विदेशमन्त्री एवं भारत सरकार र सम्बन्धित पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, भ्रमणका विषयमा समाचार सम्प्रेषण गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू लगायत सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद !