Press Release issued by Permanent Mission of Nepal to the UN & other Int’l Organizations, Geneva

प्रेष विज्ञप्ति

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संगठनका लागि नेपालको स्थायी नियोग तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूतावासले २ जुलाई २०१६ मा स्वीट्जरल्याण्डको राजधानी सहर बर्नमा “Mountains: Connecting Cultures and Peoples” विषयमा एक नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्‍यो । उल्लेख्य हिमाली भू-वनावट रहेका नेपाल र स्वीट्जरल्याण्ड दुई मुलुकबीच जनस्तरमा भावनात्मक सम्बन्ध गाँस्न तथा सो मार्फत् सम्पूर्ण द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नमा हिमाल (Mountains) ले खेलेको योगदानलाई कदर गर्ने थिम राखी गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपालका पर्यटकीय र लगानीका क्षेत्र एवं सम्भावनाहरूका बारेमा विभिन्न प्रस्तुतिहरूमार्फत चर्चा एवं प्रचारप्रसार गरिएको थियो । स्वीट्जरल्याण्डका पूर्व Federal Chancellor एवं स्वीस रेडक्रसका वर्तमान अध्यक्ष Dr. Annemarie Huber-Hortz तथा सन् १९८८ मा विनाकृत्रिमअक्सिजन २४ घण्टाभन्दा कम समयमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका विश्वप्रसिद्ध हिमाल आरोही (Mountaineer), Mr. Marc Batard, प्रमुख अतिथि रहनुभएका उक्त कार्यक्रममा अन्य प्रख्यात हिमाल आरोही, स्वीट्जरल्याण्डस्थित कूटनीतिक समुदायका प्रतिनिधि, नेपालमा विभिन्न विकास गतिविधि सञ्चालन गर्ने स्वीस गैरसरकारी संगठनहरूका प्रतिनिधि, स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायका सदस्य एवं नेपालका विदेशी मित्रहरु (Friends of Nepal) को सहभागिता रहेको थियो ।

कार्यक्रममा महामहिम नेपाली राजदूत श्री दीपक धितालले नेपालको विकासमा एक पुरानो साझेदार रहेको मित्रराष्ट्र स्वीट्जरल्याण्डले पुर्‍याउँदै आएको सहयोग तथा दुई मुलुकबीचमा सरकारी साथै जनस्तरमा समेत विद्यमान सहकार्यका बारेमा चर्चा गर्नुभयो । साथै उहाँले संविधान निर्माण लगायत नेपालमा पछिल्ला समयमा विकसित सकारात्मक घटनाक्रम तथा सोबाट लगानी एवं विकाससँग सम्बन्धित गतिबिधिहरूमा सिर्जित अवसर तथा सम्भावनाका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभयो । उहाँले नेपालको पर्यटकीय महत्त्वका बारेमा चर्चा गर्दै नेपालले अन्य गन्तव्यको तुलनामा फरक अनुभवहरू दिनसक्ने र साहसी र पर्या-पर्यटन (Adventure and eco-tourism) नेपालको विशेष उत्पादन रहेको बताउनुभयो । महामहिम राजदूतले सो अवसरमा स्वीस सरकार तथा जनताले नेपालमा गतवर्ष आएको विनाशकारी भूकम्पका बखत स्वतस्फूर्त रुपमा गरेको सहयोगको प्रशंसा गर्नुहुँदै नेपालको पुनर्निर्माणका क्रममा समेत स्वीस सरकारको सहयोग निरन्तर प्राप्त हुने विश्वास प्रकट गर्नुभयो ।

उक्त अवसरमा बोल्नुहुँदै कार्यक्रमका Guest of Honour, Dr. Annemarie Huber-Hortz ले नेपाल र स्वीट्जरल्याण्डबीच लामो समयदेखि रहँदै आएको मित्रवत सम्बन्ध एवं सहयोगको आदानप्रदानका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो । अर्का Guest of Honour, Mr. Marc Batard ले सगरमाथा आरोहण गर्दाका आफ्ना रोचक अनुभवहरू सुनाउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधिले नेपालको समग्र पर्यटन क्षेत्रको हालको अवस्थाका बारेमा चित्रण गर्दै गतवर्षको विनाशकारी भूकम्पहरूपश्चात् समेत नेपाल पर्यटकका लागि एक सुरक्षित गन्तव्य रहेको सन्देश प्रवाह गर्नुभएको थियो । सो क्रममा नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने फिल्महरू समेत देखाइएको थियो । सो कार्यक्रममा Swiss-Nepal Society का उपाध्यक्ष श्री पीतम गुरुङ्ग तथा गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डका अध्यक्ष श्री हीरा बल गुरुङ्गले नेपाल र स्वीट्जरल्याण्डबीच रहँदै आएको सम्बन्ध एवं सहकार्य तथा नेपालमा विद्यमान लगानी एवं पर्यटनका सम्भावनाहरूबारे आफ्ना भनाईहरू राख्नुभएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा नेपाली राजदूतावासका नियोग उपप्रमुख श्री सुरेश अधिकारीले कार्यक्रममा सहभागी अतिथिहरू एवं कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका द्वितिय सचिव श्री लक्ष्मण खनालले गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा सहभागीहरूका लागि नेपाली खानाको व्यवस्था समेत गरिएको थियो ।

विभिन्न पेशा एवं क्षेत्रमा संलग्न स्वीस तथा अन्य विदेशी अतिथिहरू लगायत करिब १२० जनाको सहभागिता रहेको प्रस्तुत नेपाल प्रवर्द्धनात्मक कार्यक्रमले सहभागीहरूलाई नेपालको पर्यटकीय विशेषताहरू एवं पर्यटन तथा लगानीका क्षेत्रमा रहेका अवसर एवं सम्भावनाहरूका बारेमा सूचना प्रवाह गर्नुका साथै नेपाल एक सुरक्षित र आकर्षक पर्यटकीय ‍गन्तव्य रहेको सन्देश दिएको छ । साथै, प्रस्तुत कार्यक्रमले समेटेको थिम तथा कार्यक्रममा सहभागीहरूले दिएका प्रस्तुतिमार्फत् दुई मुलुकबीच जनस्तरमा विद्यमान भावनात्मक सम्बन्ध एवं कार्यगत सहकार्य थप सुदृढ गर्नेतर्फ योगदान पुग्ने समेत यस राजदूतावासको मूल्याङ्कन रहेको छ ।

नेपाली राजदूतावास
जेनेभा
३ जुलाई २०१६ ।