Press release issued by Embassy of Nepal, State of Kuwait

प्रेस विज्ञप्ति

वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका नेपाली कामदारहरूको हकहित प्रबर्द्धन विषयमा मिति २३ पौष २०७४ (७ जनवरी २०१८) मा यस राजदूतावासले कुवेतको United Facilities Management Company को केन्द्रीय कार्यालयमा उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरू तथा कम्पनीका व्यवस्थापकहरूको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा कुवेतको श्रम तथा अध्यागमन कानूनको विविध पक्षहरूबारे जानकारी, कामदारहरूका समस्याहरू, त्यसका कारण र समस्यमा पर्नबाट बच्न कुवेतमा रहँदा नेपालीहरूले गर्नुपर्ने कुराहरू र गर्न नहुने कार्यहरूको बारेमा चर्चा तथा जानकारी गरिएको थियो।

उक्त अन्तरक्रिया एवं जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत श्री यज्ञबहादुर हमालले कुवेतमा कार्यरत नेपाली कामदारहरूलाई आईपर्ने समस्याहरूको समधानको लागि राजदूतावास सदैव तत्पर रहेको जानकारी दिनुभयो। उहाँले कुवेतको कानून प्रदत्त आफ्नो अधिकारको प्रयोग गर्नका निम्ति नेपाली कामदारहरूले कुवेतको श्रम तथा अध्यागमन कानूनको बारेमा पूर्ण जानकारी राख्न र त्यसको पालना गर्न आवश्यक रहेको औल्याउँदै कामदारहरूले आफ्नो काम लगनशीलता, इमान्दारी एवं जिम्मेवारीपूर्वक सम्पादन गर्न आग्रह गर्नुभयो।

राजदूतावासका प्रथम सचिव श्री भोगेन्द्र लिङ्देनले कुवेतमा नेपाल र नेपालीहरूको प्रतिष्ठालाई उच्च राख्न कसैले पनि गैरकानूनी कार्यमा संलग्न हुन नहुने, कसैको प्रलोभनमा परी आफ्नो कम्पनी छाडेर गैरकानूनी रूपमा अर्को कम्पनीमा काम गर्न नजान, त्यस्तो कार्यलाई प्रश्रय नदिन जोड दिदै कुवेतमा रहँदा नेपालीहरूले गर्नुपर्ने कुराहरू र गर्न नहुने कुराहरूको बारेमा जानकारी गराउनु भएको थियो। साथै, राजदूतावासका द्वितीय सचिव श्री ज्ञानबहादुर मगरले कुवेतको श्रम तथा अध्यागमन कानूनका महत्वपूर्ण प्रावधानहरू, कानून प्रदत्त अधिकारको प्रयोग गर्ने प्रक्रिया,  नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधानका लागि गर्नुपर्ने कार्यहरू समेटिएको जानकारीमुलक प्रस्तुतिकरण (Power Point Presentation) गर्नुभएको थियो। कार्यक्रमका सहभागी कामदारहरूका तर्फबाट राखिएका समस्याहरू कम्पनी व्यवस्थापन समक्ष राखी सम्बोधन गरिएको थियो।

कार्यक्रममा उक्त कम्पनीमा कार्यरत सयभन्दा बढी नेपाली कामदारहरू तथा कम्पनीका उच्च तहका व्यस्थापकहरूको सहभागिता रहेको थियो। सहचारी श्री मनोज कुमार सिंहले संचालन गर्नुभएको उक्त कार्यक्रममा श्रम सहचारी श्री ज्ञानेन्द्र शर्माले कामदारहरूले ध्यान दिनुपर्ने कुराहरूको बारेमा जोड दिनुभएको थियो। साथै, तृतीय सचिव श्री सुरेश अधिकारीले कम्पनीमा कार्यरत कामदारहरू तथा कम्पनी व्यवस्थापनलाई राजदूतावासको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

२३ पौष २०७४

(७ जनवरी २०१८)