Press release issued by the Embassy of Nepal, Dhaka, Bangladesh on the occasion of the celebration of National Democracy Day 2074

प्रेश विज्ञप्ति

नेपाली प्रजातन्त्र दिवस २०७४ लाई भब्य रुपमा मनाउन आज २०७४ साल फागुन ७ गते तदनुसार १९ फेब्रुअरी २०१८ का दिन नेपाली राजदूतावास ढाकामा एक समारोहको आयोजना गरियो । आफ्नो जीवनको समेत पर्वाह नगरी प्रजातन्त्रका लागि बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरी नेपाल र बङ्गलादेशको राष्ट्रिय धुन बजाई कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रममा बङ्गलादेश नेपाल मैत्री समाजका अध्यक्ष तथा पदाधिकारीहरु, बङ्गलादेशका वरिष्ठ प्राध्यापक, चिकित्सक, बङ्गलादेशमा विभिन्न अन्तर्राष्ट्रिय तथा गैरसरकारी संघसंस्थाहरुमा उच्च तहमा कार्यरत नेपालीहरु, चिकित्साशास्त्र लगायत विभिन्न विषायमा उच्चशिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरु, ब्यावसायीहरु, बङ्गलादेशी शुभेच्छुकहरु, बङ्गलादेशी नागरिकसँग बैवाहिक सम्बन्धमा रहेका नेपालीहरु र नेपाली मूलका बङ्गलादेशी नागरिकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा “बदलिंदो सन्दर्भमा हाम्रो दायित्व” भन्ने विययमा अन्तरकृया समेत गरिएको थियो ।

आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै नियोग उपप्रमुख श्री धनबहादुर वलीले अन्तरक्रियाको प्रारम्भ गर्नुभएको थियो । लामो अन्तरिम कालको अन्त्य गर्दै संघियता सहित जनताका अधिकार, स्वतन्त्रता, समावेशी लोकतन्त्र लगायतका संविधानका विशेषताहरु सहितको नेपालको संविधान जारी भईसकेको र त्यही संविधान अन्तर्गत रहेर तीनै चरणको निर्वाचन समेत सम्पन्न भैसकेको सन्दर्भमा अव देश आर्थिक विकास, सम्बृद्धि र स्थायित्वतर्फ उन्मुख भएको अवसरमा विदेशमा रहेका नेपालीहरुले मुलुकको विकासमा के कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफलको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालले राजनैतिक चुनौति समाप्त गरी अव विकासको चरणमा प्रवेश गरेको हुँदा सबै तह र तप्काबाट आपसी सहयोग र सहकार्यको अपरिहार्यता रहेको बारेमा धारणाहरु राख्नु भएको थियो ।

आमन्त्रित तथा सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्नुहुँदै महामहिम राजदूत प्रो.डा. चोपलाल भुसालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध सरकारी स्तरमा मात्र सीमित नरही जनस्तरको रहेको र यी सम्बन्ध आपसी हित अभिबृद्धितर्फ उन्मुख रही थप फराकिलो र सुदृढ हुँदैं गएको चर्चा गर्नुभयो । नेपाल बिकासका लागि प्रचुर सम्भावना र चुनौति बोकेको मुलुक हो । अव यही सम्भावना र चुनौतिहरुलाई अवसरमा बदल्ने खाँचो रहेको र यस कार्यमा सवै नेपालीको योगदान आवश्यक रहेको धारणा महामहिमले ब्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन द्वितीय सचिव श्री डिल्ली आचार्यले गर्नु भएको थियो । कार्यक्रम पश्चात रात्रीभोजको आयोजना गरिएको र राष्ट्रिय दिवसका अवसरमा राजदूतावास परिसरमा तीन दिन दीपावली समेत गरिएको छ ।

७ फागुन २०१७४ तदनुसार १९ फेब्रुअरी २०१८
नेपाली राजदूतावास, ढाका