Press Note issued by the Hon’ble Deputy Prime Minister and Minister for Foreign Affairs at Tribhuvan International Airport upon completion of his official visit to the People’s Republic of China.

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्री कृष्णबहादुर महाराज्यूले जारी गर्नु भएको प्रेस नोट
भाद्र २६, २०७४ (सेप्टेम्वर ११, २०१७)

 

उपस्थित पत्रकार मित्रहरु,

जनवादी गणतन्त्र चीनका विदेश मन्त्री महामहिम वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मिति २१ देखि भाद्र २६, २०७४ (तदनुसार सेप्टेम्वर ६‒११, २०१७) सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरें।

उक्त भ्रमणका क्रममा सेप्टेम्वर ७ का दिन चीनका राज्य परिषद्का प्रधानमन्त्री महामहिम लि खछियाङसंग शिष्टाचार भेट र स्टेट काउन्सेलर याङ जेइछीसंग भेटवार्ता तथा चिनियाँ विदेशमन्त्री महामहिम वाङ यीसंग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता गरें।

महामहिम लि खछियाङसंगको भेटको अवसरमा मैले सम्माननीय प्रधानमन्त्री शेरवहादुर देउवाको शुभकामना सन्देश सुनाउदै महामहिम लिलाई नेपालको एक चीन नीति तथा नेपाली भूमिवाट चीनविरोधी गतिविधि हुने नदिने प्रतिवद्धता दोहोर्याएँ। साथै, बेल्ट एण्ड रोड इनिसियटिभले उपलब्ध गराएको अवसरवाट लाभ लिन दुवै देशले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिदै यसवाट भौतिक  पूर्वाधार निर्माण, ब्यापार, पर्यटन, लगानी प्रवर्द्धन तथा जनस्तरको सम्वन्ध विस्तारका क्षेत्रमा पारस्परिक सहयोग वढाउन सकिने विश्वास ब्यक्त  गरें । त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रुपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य शीघ्र अघि वढाउन अनुरोध गर्दै यो रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताहरुवीच मतक्यैता भएको कुरा ब्यक्त गरेको थिएँ। उच्चस्तरीय भ्रमणको महत्व दर्शाउदै हामी चिनियाँ राष्ट्रपतिको भ्रमणको प्रतिक्षामा रहेको र नेपालका प्रधानमन्त्रीले वहांलाई उपयुक्त समयमा नेपाल भ्रमणको लागि आमन्त्रण गर्नुभएको कुरा राखेको थिए। उक्त अवसरमा मैले चिनियाँ उपप्रधानमन्त्री वाङ याङ्ले गत महिना गर्नुभएको सफल भ्रमणको स्मरण गर्दै नेपालका प्रधानमन्त्रीलाई वहां मार्फत दिनुभएको चीन भ्रमणका निम्तिका लागि धन्यवाद दिए र प्रधानमन्त्रीले उपयुक्त समयमा चीनको भ्रमण गर्न चाहेको सन्देश सुनाएँ ।

 प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको एक चीन नीतिको प्रंशसा गर्दै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभवाट नेपाल जस्ता मुलुकहरुले पर्याप्त लाभ लिन सकुन भन्ने चीनको चाहना रहेको बताउनुभयो । वहांले नेपालले राजनीतिक स्थायित्व हासिल गर्दै गरेकोमा खुशी ब्यक्त गर्दै नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने बताउनुभयो । प्रधानमन्त्री लिले उपयुक्त समयमा दुवै पक्षवाट पर्याप्त तयारी पश्चात उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न सकिने वताउनुभयो । हिमालवारपार हुने गरी रेलमार्ग निर्माणको सम्वन्धमा सो मार्ग संसारको सवैभन्दा कठीन भूवनोट भएर जाने तथा छोटो दूरीमा ठूलो उचाईको अन्तर पर्ने भएकोले पर्याप्त बैज्ञानिक अध्ययन अनुसन्धान गरी कामलाई शीघ्र अगाडि वढाइने वताउनु भयो। अरनिको राजमार्गको पुनसंचालनका लागि भौगर्भिक अध्ययन पश्चात सुरक्षालाई समेत विचार गरी संचालनमा ल्याउने वताउनुभयो। साथै, मैले भ्रमणको क्रममा चीनका स्टेट काउन्सेलर महामहिम याङ जेइछीसंग आपसी हितका विविध विषयहरुमा छलफल गरे । वहांले नेपालसंगको सम्वन्धलाई चीनले महत्व दिएको वताउनुभयो ।

त्यसअघि सोही दिन चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यीसंगको बैठकको अवसरमा नेपाल‒चीन द्विपक्षीय सम्वन्धका सवै पक्षहरुमा छलफल भयो । विगतमा भएका सम्झौता एवं समझदारीहरुको कार्यान्वयन गर्न तथा स्थापित द्विपक्षीय संयन्त्रहरुको वैठक नियमित रुपमा आयोजना गर्न हामी दुवै पक्ष सहमत भयौं । छलफलको क्रममा चिनियाँ लगानी, पर्यटन प्रवर्द्धन, नेपाली हवाइसेवाको बेइजिङ र ग्वाङचाउमा सिधा उडानको सहमति, सांस्कृतिक र जनस्तरको सम्वन्ध विस्तार, सीमा क्षेत्रमा आर्थिक पूर्वाधारको विकास, बैकिङ सेवामा सहकार्य, भूकम्पपछिको पुनर्निर्माण, कृषिमा आधुनिकीकरण, नेपाली वस्तुको चीनमा निर्यात प्रवर्द्धन जस्ता विषयमा सहयोगलाई मूर्त ढंगले अगाडि वढाउने समझदारी वनेको छ । उक्त अवसरमा मैले चीनले निरन्तर रुपमा नेपालको विकास र भूकम्प पश्चात पुनर्निर्माण कार्यमा गरेको सहयोगका लागि धन्यवाद दिए।

सोही दिन अपरान्ह मेरो उपस्थितिमा एक समारोहका बीच नेपाल र चीन सरकारबीच उर्जा सहयोग सम्वन्धी समझदारीपत्र (MoU on Energy Cooperation) मा प्रारम्भिक हस्ताक्षर भयो । यसवाट उर्जा संभाब्यता अध्ययन, उर्जा उत्पादन परियोजनाको विकास तथा निर्माण एवं उर्जा प्रशारण लाइन निर्माणमा दुई देशवीच सहयोग विस्तार हुने विश्वास गरिएको छ। त्यसैगरी  चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली राजदूतावास र Zhongjingrun Tourism Investment Co. Ltd बीच समझदारीपत्रमा समेत हस्ताक्षर भयो।सोही दिन साँझ नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोह (Reception) मा उपस्थित चीनको थिङ्क ट्याङ्क, प्राज्ञिक क्षेत्रमा कार्यरत वुद्धिजिवीहरु, ब्यापारिक समुदाय, चीनमा रहेका नेपाली समुदाय र बेइजिङस्थित कूटनीतिक समुदायका सदस्यहरुसंग नेपाल-चीन सम्वन्ध एवं सहयोगका विविध पक्षवारेमा कुराकानी भएको थियो ।

सेप्टेम्वर ८ का दिन मैले चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री महामहिम सङ थाओसंग भेट गरें ।वहाँसँगको भेटमा नेपाल र चीनबीचका द्विपक्षीय सम्वन्ध र सहयोग विस्तारका विषयमा विचारहरु आदानप्रदान भयो ।सोही दिन मैले बेइजिङस्थित चीन परराष्ट्र मामिला विश्वविद्यालय (China Foreign Affairs University) मा “नेपाल-चीन साझेदारी: हिमालवारपारको विकास (Nepal-China Partnership: Trans-Himalaya Development)” विषयमा त्यहां अध्ययनरत ६०० विद्यार्थी एवं प्राध्यापकहरु माझ आफ्नो मन्तब्य प्रस्तुत गरें ।

सेप्टेम्वर ९ का दिन बेइजिङवाट ग्वाङचाउ आउने क्रममा चीनको हबेइ प्रान्तको सिबाइपोमा रहेको ऐतिहासिक संग्रहालय,  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका तत्कालीन वरिष्ठ नेताहरुको कार्यालय तथा आवास एवं तत्कालीन चिनियाँ जनमुक्ति सेनाको कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुका साथै हबेइ युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजिनेशका प्रेजिडेण्टसंग नेपालका शैक्षिक संस्थाहरुसंग सम्वन्ध विस्तार गर्ने विषयमा कुराकानी भयो ।

त्यसैगरी  सेप्टेम्वर १० का दिन ग्वाङतोङ प्रान्तका गभर्नरसंगको भेट, ग्वाङचाउमा नेपाली कन्सुलेट जनरलको उद्घाटन र चिनियाँ तथा नेपाली उद्यमी ब्यवसायीहरुलाई सम्वोदन गर्ने काम सम्पन्न गरे । ब्यवसायीहरुको सहभागितामा भएको कार्यक्रममा नेपालमा उपलब्ध लगानीको अवसरका वारेमा जानकारी गराउनका साथै लगानी गर्न समेत आग्रह गरे ।

सोही दिन ग्वाङतोङ प्रान्तका गभर्नरसंगको भेटमा नेपाल र चीनको ग्वाङतोङ प्रान्तबीच पर्यटन लगानी र जनस्तरको सम्वन्ध विस्तार गर्ने र सहयोगका लागि अघि वढ्ने समझदारी बनेको छ ।

भ्रमणमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री गणेशप्रसाद ढकाल, उपसचिव श्री कुमार राई, जनसम्पर्क तथा प्रेश संयोजक श्री हरि लामिछानेका साथै बेइजिङमा नेपाली राजदूत महामहिम लीलामणि पौड्याल तथा दूतावासका मिनिस्टर तथा नियोग उपप्रमुख श्री सुशीलकुमार लम्साल, मिनिस्टर इकोनोमिक श्री विनोदप्रसाद आचार्य, मिनिस्टर काउन्सेलर श्री हरिश्चन्द्र घिमिरे र प्रथम सचिव श्री सावित्रा ओली एवं ग्वाङचाउमा नेपाली राजदूत महामहिम लीलामणि पौड्याल, कन्सल जनरल श्री रवि भट्टराई तथा द्वितीय सचिव श्री दीपक बन्जाडेको सहभागिता थियो ।

भ्रमणको उपलब्धीहरु

  • विभिन्न तहमा भएको द्विपक्षीय वार्तावाट नेपाल र चीनबीच राजनीतिक तहमा एक अर्काप्रति विश्वासको वातावरणमा अभिवृद्धि भएको छ।
  • उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई पक्षबीच सहमति भएको छ ।
  • नेपाल र चीनबीच सीमावारपार रेललाइन निर्माण सम्वन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।
  • नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्वन्धी समझदारीपत्र अन्तर्गत रहेर भौतिक पूर्वाधारको विकास, उर्जा सीमावारपारको सञ्जाल निर्माणजस्ता क्षेत्रहरुमा नेपालले प्रस्ताव गरेको आयोजना परियोजनाहरुमा चीनले सहयोग गर्नेछ ।
  • उर्जा सहयोग सम्वन्धी समझदारीपत्रमा नेपाल र चीन सरकारबीच प्रारम्भिक हस्ताक्षर भयो ।
  • स्थापित द्विपक्षीय संयन्त्रहरुको नियमितरुपमा बैठक आयोजना गर्न दुई पक्षबीच सहमति भयो।
  • छङ्दुमा नेपाली कन्सुलेट जनरल स्थापना गर्ने विषयमा चिनियाँ पक्ष सहयोग गर्न सहमत भयो।बेइजिङ र ग्वाङचाउमा नेपाली हवाई कम्पनीलाई उडान अनुमति दिने सम्वन्धी काम शीघ्र अगाडि वढ्ने भएको छ ।
  • विश्वविद्यालय र ब्यवसायीहरुसंगको अन्तरक्रियावाट दुई मुलुकवीचको जनस्तरमा सम्वन्ध विस्तार तथा नेपालमा चिनियाँ लगानी र पर्यटन प्रवर्द्धन हुने विश्वास लिएको छु ।

समग्रमा मेरो चीन भ्रमणमा त्यहाका नेताहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक तथा सन्तोषजनक रह्यो । मेरो भ्रमणवाट आपसी समझदारी र विश्वास अभिवृद्धि गरी द्विपक्षीय सम्वन्धलाई नयाँ उचाइमा पुर्याउन थप योगदान पुगेको मेरो विश्वास छ ।