Press Note issued by Consulate General of Nepal in Lhasa about the Up-gradation of Rasuwagadhi-Kerung Port into International Port

नेपाल र चीनबीचको रसुवागढी-केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति भएको बारे

 

नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी-केरुङ नाका बि. सं. २०७१ मंसिर १५ (तदनुसार सन् २०१४ डिसेम्बर १ तारिख) देखि द्विपक्षीय नाकाको रुपमा संचालन हुँदै आएको थियो । उक्त नाकाबाट नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवत जावत गर्न सक्ने अवस्था थियो । उक्त नाकालाई मिति २०७४ साल भदौ १४ गते (तदनुसार सन् २०१७ अगष्ट ३०) देखि अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय  नाकाको रुपमा रुपान्तरण भए पश्चात अब रसुवागढी-केरुङ नाकाबाट नेपाली र चीनियाँ नागरिकका साथसाथै तेश्रो मुलुकका नागरिकहरु समेत आवतजावत गर्न सक्छन् । यस नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सन् २०१७ को जुन महिनामा नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबीच कूटनीतिक पत्र (Diplomatic Notes) आदान प्रदान भएको थियो । आजका मिति अर्थात बि. सं. २०७४ भदौ १४ गतेबाट उक्त नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा संचालन भएको घोषणासहित पत्रकारहरुलाई जानकारी गराउन जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदूत श्री गोविन्द बहादुर कार्कीको उपस्थितिमा ल्हासामा एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा तिब्बत सरकारका तर्फबाट बोल्दै तिब्बत सरकारका सहायक अध्यक्ष महामहिम श्रीमती Luo Mei ले ल्हासास्थित नेपाली महावाणिज्यदूतको उपस्थितिमा रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै, वहाँले चीनतर्फ उक्त नाकाको भौतिक पुर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिबृद्धि हुने तथा यसबाट चीनको One Belt One Road (OBOR) Initiative कार्यान्वयनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमा ल्हासास्थित नेपाली महावाणिज्यदूत श्री गोविन्द बहादुर कार्कीले मन्तव्य राख्दै रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाइएबाट दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने कुरा बताउनुभयो । नेपालले चीनको OBOR Initiative मा हस्ताक्षर समेत गरिसकेको तथा दुवै देशले Connectivity एवं व्यापार, पर्यटन र लगानी प्रबर्धनलाई जोड दिएको सन्दर्भमा बि. सं. २०७२ साल बैशाख महिनाको भूकम्पबाट अबरुद्ध हुन पुगेको नेपाल र चीनबीचको ऐतिहासिक तातोपानी-खासा नाका पुनःसञ्चालनमा ल्याई दुबै देशको सहमतिमा थप नयाँ नाकाहरु समेत खोल्दै जानुपर्ने बिचार व्यक्त गर्नुभयो ।

सो पत्रकार सम्मेलनमा बोल्ने तिब्बत सरकारका अन्य पदाधिकारीहरुले रसुवागढी-केरुङ नाका अन्तर्राष्ट्रिय स्तरमा सञ्चालनमा आएपश्चात  व्यापार तथा पर्यटन प्रबर्धन भै दुवै मुलुकलाई फाइदा हुने भएकाले सोही अनुसार प्रचार प्रसार गर्नका लागि उपस्थित पत्रकारहरुलाई अनुरोध गरेका थिए । साथै उनीहरुले रसुवागढी- केरुङ नाका भविष्यमा चीनलाई दक्षिण एशियासँग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग (Channel) हुने कुरा बताएका थिए ।

नेपाली महावाणिज्यदूतावास
ल्हासा

मितिः २०७४ भदौ १४