Press note for Hon. Foreign Minister’s interaction with media upon his arrival from China

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नु भएको प्रेस नोट
बैशाख ०८, २०७५
(अप्रिल २१, २०१८)

उपस्थित पत्रकार मित्रहरु,

  • जनवादी गणतन्त्र चीनका स्टेट काउन्सेलर तथा विदेश मन्त्री महामहिम श्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मिति ०३ देखि ०८ बैशाख २०७५ (तदनुसार अप्रिल १६‒२१, २०१८) सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी फर्केको छु । मेरो चीन भ्रमणका सम्वन्धमा विभिन्न माध्यमहरु मार्फत तपाईहरु अवगत नै हुनुहुन्छ । तथापि भ्रमणका वारेमा म तपाईहरुलाई देहाय बमोजिम जानकारी गराउन चाहन्छु ।
  • उक्त भ्रमणका क्रममा अप्रिल १८ का दिन चीनका उपराष्ट्रपति महामहिम श्री वाङ छिशाङसंग शिष्टाचार भेट एवं चिनियाँ स्टेट काउन्सिलर/विदेशमन्त्री महामहिम श्री वाङ यीसंग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय वार्ता गरें।
  • शिष्टाचार भेट: महामहिम वाङ छिशाङसंगको भेटको अवसरमा मैले सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको शुभकामना सन्देश सुनाउदै नेपालले महामहिम सी चिनपिङको “मानवताको लागि साझा भविष्यको समुदाय निर्माण” (Building a Community of Shared Future for Humanity) गर्ने सोचको सराहना गरेको र बेल्ट एण्ड रोड इनिसियटिभ (BRI) अन्तर्गत सहभागी मुलुकहरुवीच सहयोग वढाउने चीनको प्रयत्नलाई नेपालले समर्थन गरेको कुरा राखें । मित्रता र असल छिमेकीपनमा आधारित नेपाल र चीनवीचको सम्वन्ध प्राचीनकालदेखिनै उत्कृष्ट रहिआएको उल्लेख गर्दै महामहिम वाङले द्विपक्षीय सम्वन्धको संभावनालाई पूर्णरुपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
  • प्रतिनिधिमण्डल स्तरीय वार्ता: अप्रिल १८ तारिखकै दिन विहान महामहिम श्री वाङ यीसंग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भयो ।उक्त वार्तामा हामी दुवै पक्ष नेपाल‒चीन सम्वन्धलाई थप नयां उचाइमा पुर्याउन सहमत भयौ ।त्यसैगरी आपसी विश्वास र मित्रतामा आधारित द्विपक्षीय सम्वन्धलाई प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन हामी सहमत भयौ । सन् २०१६ मा सम्पन्न प्रधानमन्त्री सम्माननीय श्री के.पी. शर्मा ओली र सन् २०१७ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को चीनभ्रमणको अवसरमा भएका संझौताहरु लगायत दुई देशवीच विगतमा भएका सवै संझौता तथा समझदारीहरुको शीघ्र कार्यान्वयन गर्न सहमत भयौ । हामी दुवै पक्षले सम्पर्क सञ्जाल (Connectivity) र साझा संवृद्धिको लागि वन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत र सञ्चार क्षेत्रहरु समेट्ने गरी दीर्घकालीनरुपमा हिमालय वारपार वहुआयामिक यातायात सञ्जाल (Trans-Himalayan Multidimensional Transport Network) विकास गर्ने विषयमा समान धारणा राख्यौ ।
  • द्विपक्षीय सहयोग: हामी दुवै पक्ष चिनियाँ सरकारको सहयोगमा सञ्चालित परियोजनाहरुको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्न सहमत भयौ। त्यसैगरी, बी.आर.आई. अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन तथा जनस्तरको सम्वन्ध विकासमा अझ धेरै द्विपक्षीय सम्वन्ध वढाउन र सो अन्तर्गत सहयोग परियोजना पहिचान गरी समयतालिका बनार्इ कार्यान्वयन गर्नुपर्नेमा जोड दियौं । यसका साथै केरुङवाट काठमाडौ, काठमाडौंवाट पोखरा हुंदै लुम्विनी जोड्ने सीमा वारपार रेलमार्गको संभाब्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) को तयारीवारेमा पनि हामीले छलफल गर्यौ । त्यसैगरी द्विपक्षीय संयन्त्रहरुको बैठक यथाशीघ्र गर्ने र वार्ताको क्रममा रहेका संझौताहरुलाई यथाशीघ्र टुङ्याउन आपसी परामर्शलाई निरन्तरता दिनेकुरामा हामी सहमत भयौ।
  • सीमा नाकाको सञ्चालन तथा स्तरोन्नती: द्विपक्षीय वार्ताकै क्रममा रसुवागढी‒केरुङ र तातोपानी‒झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाकाहरु खोल्नुपर्ने आवश्यकतामा जोड दिदै तातोपानी नाकालाई शीघ्र सुचारु गर्नमैले आग्रह गरें।
  • द्विपक्षीय ब्यापार: नेपालको चीनसंगको वढ्दो ब्यापार घाटा कम गर्न चीनमा नेपालको निर्यात वढाउनुपर्ने आवश्यकतामा जोड दिएं । महामहिम वाङले नेपाली उत्पादनलाई चीनमा राम्रो बजार पहुंचको सुविधा प्रदान गर्ने आश्वासन दिदै चीनको खुलापन र सुधारवाट सिर्जित अवसरहरुको फाइदा लिन आग्रह गर्नुभयो ।
  • नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रम: यसअघि अप्रिल १७ का दिन साँझ चीनका लागि महामहिम नेपाली राजदूतले आयोजना गर्नुभएको स्वागत समारोह (Reception) मा सहभागी भई कार्यक्रममा उपस्थित चीनको थिङ्क ट्याङ्क, चिनियाँ मित्रहरु, ब्यापारिक समुदाय, चीनमा रहेका नेपाली समुदाय र बेइजिङस्थित कूटनीतिक समुदायका सदस्यहरुलाई संवोधन गरें । सो क्रममा नेपाली समुदायलाई चीनमा हासिल गरेको ज्ञान सीप र पूँजी नेपालमा सदुपयोग गर्न आग्रह  गरें ।  सोही अवसरमा चिनियाँ भाषामा अनुदित “प्रधानमन्त्री के. पी. शर्मा ओलीका चुनिएका भाषणहरु” नामक पुस्तकको बिमोचन समेत गरें ।
  • चिनियाँ वुद्धिजीवीहरुलाई सम्वोधन: अप्रिल १९, २०१८ का दिन विहान बेइजिङस्थित China Reform Forum द्वारा आयोजित कार्यक्रममा चिनियां वुद्धिजीवी र पूर्व कूटनीतिज्ञहरुसंग मैले प्रमुख वक्ताको रुपमा “Nepal-China Relations in the 21st Century” विषयमा मन्तब्य राखें।
  • पर्यटन प्रवर्द्धन कार्यक्रम: त्यसैगरी बेइजिङमा नेपाली राजदूतावास, नेपाल पर्यटन वोर्ड र नाटाद्वारा संयुक्त रुपमा आयोजित Nepal Tourism Promotion in China विषयक कार्यक्रममा चिनीयाँ तथा नेपाली पर्यटन ब्यवसायीलार्इ नेपालमा पर्यटन प्रवर्द्धनमा सरकारको धारणा राखें।
  • सिचुवान प्रान्तका गभर्नरसंगको भेट: चीनको सिचुवान प्रान्तको भ्रमणको क्रममा सो प्रान्तका गभर्नर महामहिम डा. यीन लिसंग भेट गरें । सो अवसरमा नेपाल र सिचुवान प्रान्तवीच ब्यापार, लगानी, पर्यटन प्रवर्द्धन, जनशक्ति विकास, जनस्तरको सम्वन्ध लगायतका क्षेत्रहरुमा छलफल गरें । नेपालवाट निकट रहेको सिचुवान प्रान्त आर्थिक एवं सांस्कृतिक रुपले सम्पन्न रहेको हुंदा उक्त प्रान्तवाट नेपालमा लगानी र पर्यटक भित्र्याउनको लागि चिनियां नागरिकहरुलाई अभिप्रेरित गरिदिन वहांलाई मैले आग्रह गरें । त्यसैगरी चीनसंगको नेपालको वढ्दो ब्यापार घाटा कम गर्न सिचुवान प्रान्तमा नेपाली निर्यातयोग्य वस्तुहरुको सहज प्रवेशको लागि आग्रह गरें । नेपाल र सिचुवान प्रान्तवीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्वन्ध वढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामर्थ्यवाट नेपालले पर्याप्त लाभ लिन सक्ने संभावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छङदुमा नेपाल सरकारले कन्सुलेट जनरल स्थापना गर्न चाहेको बताउंदै सो कार्यमा सहयोगका महामहिम डा. यीन लिलार्इ आग्रह गरें ।
  • सिचुवान विश्वविद्यालयमा संवोधन: सिचुवान प्रान्तको भ्रमणको क्रममा सिचुवान विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रममा सहभागी भई उक्त कार्यक्रममा Nepal-China Relations: Development Prospects in Trans-Himalayan Region विषयमा संवोधन गरें । 
  • लगानीकर्ताहरुसंगको भेटघाट: अप्रिल १८ तारीखका दिन बेइजिङमा चाइना थ्रिगोर्जेज कम्पनिका उच्च पदाधिकारीसंग र अप्रिल २० तारिखका दिन सिचुवानमा सिचुवान इन्भेष्टमेण्ट ग्रुप कम्पनीका उच्च पदाधिकारीहरुसंग बेग्लाबेग्लै भेटगरें।भेटकाक्रममा मैले बी.आर.आइ. अन्तर्गत सहयोगको लागि नेपालका ५ मुख्य प्राथमिकताका क्षेत्रहरु:‒यातायात सञ्जाल, अन्तरदेशीय विद्युत प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्वन्ध विकासवारे अवगत गराएँ । दुबै अवसरमा वहांहरुले अहिले नेपालमा केही लगानी गरीरहेको बताउदै थप लगानीका लागि प्रकृयालार्इ सरल बनाउन तथा सहज वातावरण वनाईदिन अनुरोध गर्नुभएको थियो। मैले वहांहरुलाई नेपाल सरकारको तर्फवाट लगानीको लागि सहजीकरण गर्ने आश्वसन दिदै थप पुँजी र उत्कृष्ट प्रविधी भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न आग्रह गरें ।
  • मेरो नेतृत्वको प्रतिनिधींमण्डलमा चीनका लागि नेपाली राजदूत र परराष्ट्र मन्त्रालय तथा वेजिङ स्थित नेपाली नियोगका अधिकारीहरुको सहभागिता रहेको थियो ।
  • मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध त्था प्रदान गरिएको न्यानो आतिथ्यताको लागि म जनवादी गणतन्त्र चीन सरकारको विदेश मन्त्रालय तथा सिचुवान प्रान्तीय जनसरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।